काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले एमालेले मतदाताको अभिमतको अवमूल्यन गरेको बताएका छन् । स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम नआउँदै एमालेले सिंगो निर्वाचन प्रक्रियामाथि अनेक प्रश्न उठाएको उल्लेख गर्दै थापाले यस्तो बताएका हुन् ।
एमाले महासचिवले प्रेस विज्ञप्ति जारी गर्दै चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका थिए । उक्त आरोपको जवाफ दिँदै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मतदानसम्म ठीक,मतगणनाको प्रारम्भमा पनि ठीक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले)ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो ।’
एमाले महासचिव पोखरेलले निर्वाचनमा मतदान र मतगणनाको समयमा गठबन्धनले योजनाबद्ध रूपमा धाँधली गरेको आरोप लगाएका हुन् । एमालेले आफूविरुद्ध मोर्चाबन्दीले मात्रै नपुगेर चुनावमा भइरहेको योजनाबद्ध धाँधलीलाई तत्काल रोक्न माग गरेको छ ।
‘हामी सत्ता गठबन्धनबाट नेकपा एमालेविरुद्ध गरिएको मोर्चाबन्दीको बाबजुद निर्वाचनमा उभिएको पार्टी हो । मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको, योजनाबद्ध धाँधलीलाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौँ,’ पोखरेलले विज्ञप्तिमार्फत भनेका छन् । उनले पुनः मतदान र मतगणनाका लागि नेकपा एमालेले दिएको उजुरीउपर गम्भीरताका साथ ध्यान दिई कार्यान्वयन गर्न माग गरेका छन् ।