November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा

2.1K

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताएका छन् । उनले कुनै हालतमा गठबन्धन तोड्न नहुने पक्षमा आफू रहेको धारण राखेका छन् ।

नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा देउवाले अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि दलले बहुमत ल्याउने अवस्था नभएकाले गठबन्धन गर्नैपर्ने बताए ।

“यो गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । यो गठबन्धन नभए हाम्रो त्यस्तै हालत हुने हो । ओलीलाई हटाउनुपर्‍यो भनेको हो । यो संविधानअनुसार कुनै पनि एक्लै पार्टीको बहुमत आउने सम्भावना छैन । कसै न कसैसँग त गठबन्धन गर्नुपर्छ” उनले भने ।

Advertisement

अहिले कुनै पनि पार्टीले एकल बहुमत ल्याउन सम्भव नभएकाले गठबन्धन गरिएको देउवाको तर्क छ । “पहिला ओलीलाई हटाउन भनियो उनलाई हटाइयो । गठबन्धनमा ‘गिभ एन्ड टेक’ हुन्छ । गठबन्धनमा आउनेले पनि पाउने आश गरेको हुन्छ नि । उनीहरुले हामीलाई ठुलो पार्टी हुनुस् भनेको छ र हामी पनि सानो पार्टी बन्छौँ भनेका छन् । यसमा के गलत छ ?,” उनले भने ।

स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज पार्टीभित्र उठिरहेका बेला देउवाले गठबन्धन गरेरै कांग्रेसको नेतृत्व संघीय र प्रदेशमा सरकार गठन गरेको तथा विभिन्न प्रदेशमा मन्त्री बनाएको कुरा स्मरण गराए ।

गठबन्धन गरेर आफूले कुनै गल्ती नगरेको पनि कांग्रेस सभापतिसमेत रहेका देउवाले दाबी गरे । गठबन्धन कायम राखेको कुरामा आफूलाई धन्यवाद र बधाई दिनुपर्नेमा आलोचना भएको भन्दै नेताहरुप्रति असन्तुष्टि पोखे । एक्लै निर्वाचनमा जाँदा २०७४ को झैँ नतिजा आउने भएकाले गठबन्धनमा जान लागेको भन्दै यसलाई जोगाउनुपर्ने बताए ।