April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्री केसीको राजीनामा

5.1K

रूपन्देही — नेकपा (एमाले)ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण प्रक्रियामा घोटाला गर्ने प्रयास गरेको भन्दै मुख्यमन्त्री केसीको राजीनामा मागिएको हो ।

अस्पतालको १२ सय शय्याको ७ अर्ब लागतमा निर्माण हुन लालेको १० तले भवनको टेन्डर प्रक्रियामै ‘सेटिङ’ गरेर राज्यलाई डेढ अर्ब नोक्सानी पुर्‍याउने प्रयास गरेको आरोप मुख्यमन्त्री केसीमाथि लागेको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै एमाले लुम्बिनी प्रदेशका इन्चार्ज एवं एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले ठेक्का प्रक्रियामै सेटिङ भएकाले प्रदेश पूर्वाधार विकास समिति अध्यक्षको हैसियतले पनि मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने बताए । ‘उहाँलाई कुनै पनि हैसियतमा सरकारमा बसिरहने अधिकार छैन,’ उनले भने, ‘प्रदेश पूर्वाधार विकास समितिको अध्यक्षको हैसियतले यस सेटिङका मुख्य जिम्मेवार मुख्यमन्त्री कुलप्रसाद केसी नै हुनुहुन्छ ।’

Advertisement

नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री केसी पदमा बसिरहन नैतिक रुपले नमिल्ने ठहर गरेकाले तत्काल राजीनामा माग्ने निर्णय गरेको उनले बताए ।

निर्माण व्यवसायीको विरोध र सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत ठेक्का प्रक्रियामा त्रुटि भेट्टाएपछि प्राधिकरणका प्रमुख अनन्तराज घिमिरेले सोमबार ठेक्का रद्दको निर्णय गरेका थिए । उक्त निर्णयपछिको दबाब थेग्न नसक्दा घिमिरेले पदबाटै राजिनामा दिएका छन् । माओवादीबाटै प्राधिकरण प्रमुखमा नियुक्त भएका उनले २०५६ सालदेखिको पार्टीको आबद्धतासमेत त्यागेको घोषणा गरेका छन् । उनले ठेक्काका लागि स्पेसिफिकेसनमै ‘सेटिङ’ मिलाएर राज्यलाई डेढ अर्ब नोक्सान गराउने प्रयास गरेको भन्दै त्यसको सम्पूर्ण दोष मुख्यमन्त्री केसीलाई लगाएका छन् ।