काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य प्रबद्र्धनका लागि २ वर्षको तलब दिने घोषणा गरेका छन् ।
मंगलबार सहरी स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै महामन्त्री थापाले आफूले स्वास्थ्य प्रबद्र्धनका लागि आफ्नो दुई वर्षको तलब दिने घोषणा गरेका हुन् । काठमाडौं महानगरपालिका वडा नं ३० मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएको छ ।
स्वास्थ्य केन्द्र सञ्चालनका लागि सांसदबापत प्राप्त २ वर्षको तलब पूर्व स्वास्थ्यमन्त्री थापाले सहयोग गर्ने घोषणा गरेका हुन् । स्थानीय नागरिकलाई स्वास्थ्य सेवा दिन काठमाडौं वडा नम्बर ३० को वडा कार्यालयले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको हो ।
सहरी स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मा मानव स्वास्थ्य नामक संस्थाले लिएको अध्यक्ष दिपेश तामाङले जानकारी दिए । संस्थाले अहिले स्रोत जुटाउन कठिनाई भैरहेका बेला महामन्त्री थापाले सहयोग गरेका हुन् ।
डा. आरती शाहका अनुसार हाल स्वास्थ्य केन्द्रमा अहिले ९ जना कर्मचारी महिला मात्र कार्यरत छन् । २ जना स्वास्थ्यकर्मी वडाले खटाउने र स्वास्थ्यकर्मी वडाका हरेक घर पुगेर स्वास्थ्य अनुगमन गर्ने उनले जानकारी दिइन् ।