November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमालेले जबराविरुद्ध महाभियोग प्रस्तावको प्रतिवाद गर्ने

1.8K

काठमाडौं : प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्ध संसदमा ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बाल्कोटमा आज (आइतबार) बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्ध षडयन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो। सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको आरोप पनि सचिवालय बैठकले लगाएको छ।

बैठकपछि सम्बाददाताहरूसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गरेको भन्दै महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको बताए। 

Advertisement

एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगलाई षड्यन्त्रपूर्ण कदम ठहर गरेको उनले बताए। महासचिव पोखरेलले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अदालतमाथिको प्रहार, सिङ्गो लोकतन्त्र र सार्वभौमसत्तामाथिको प्रहार भएको बैठकले ठहर गरेको बताए।

उनले भने, ‘एमालेले महाअभियोग प्रस्ताव अदालत, लोकतन्त्र र सार्वभौम सत्तामाथिको षड्यन्त्रपूर्ण कदम भएको ठहर गरेको छ, यसलाई एमालेले गम्भीर ढङ्गले लिँदै प्रतिवाद गर्ने निर्णय गरेको छ।’ पाँचदलीय सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यले महाअभियोग प्रस्ताव ल्याएको भन्दै सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध बिगार्ने षड्यन्त्रका साथ प्रस्ताव आएको उनले बताए। 

‘आगामी स्थानीय तहको चुनावलाई समेत असर पार्ने र चुनाव पर धकेल्ने प्रयासका साथ महाअभियोग प्रस्ताव आएको छ,’ उनले भने, ‘यो प्रस्तावले सर्वोच्च अदालतमा रहेका विचाराधीन मुद्दासमेत प्रभावित पार्ने योजनाका साथ आएको हाम्रो ठहर छ, यसले देशको राजनीतिक प्रणाली अस्थिर बनाउँछ।’ 

उनले महाअभियोग असफल पार्न जरुरी रहेकाले सोमबार बस्ने एमाले संसदीय दलको बैठकले त्यसका लागि निर्देशन दिने र महत्वपूर्ण निर्णय गर्ने जानकारी दिए।