काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभई ओली सेसन चलिरहेको बताएका छन् । आइतबार नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै थापाले चितवनमा भइरहेको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभई ओली सेसन चलिरहेको बताएका हुन् ।
त्यस्तै नेता थापाले नेकपा एमालेमा अब जनवाद सकिएको र केपी शर्मा ओलीको डनवाद सुरू भएको आरोप लगाएका छन् ।
थापाले भने, ‘बन्दसत्र कस्तो भइरहेको रहेछ भनेर जान्न चासो लाग्यो । त्यहाँ बन्द सेसन होइन, एक प्रकारले ओली सेसन नै चलिरहेको थियो । नारायणीको किनारमा कोहि पनि स्वतन्त्र मानिस छैनन् । त्यहाँ प्रतिस्पर्धा चलिरहेको छ । त्यो प्रतिस्पर्धामा भाग लिन्न भन्ने एकजना जम्म उठेछन्–भिम रावल । भीम रावलले झण्डै भकु¥याई खायो, झण्डै पिटाइ खाएर अहिले प्रहरीले सुरक्षा दिइरहेको छ । विधिगत रुपमा नेकपा एमालेबाट हिजोदेखि जनवाद सकियो । अब त्यहाँ केपी ओलीको डनवाद मात्रै बाँकी छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका कामहरू हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्तो लागेको भन्दै ओलीको आदर्श पुरूष हुन सेन रहेको बताए उनले बताए ।
हुन सेनविरूद्ध लेख्ने र बोल्नेले आफ्नो काम छोडेर बिदा हुनु परेको भन्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भीम रावलको जसरी लेखिटिने बताए ।
नेता थापाले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई काँग्रेसले तह लगाउने बताए । उनले १० औँ महाधिवेशनपछि नेतृत्वमा आउने एमालेले जनवाद गुमाएर देशको प्रजातन्त्र सक्ने बाटोमा अघि बढेर आउने आरोप लगाए। नेता थापाले एमाले अहिले बरालिएको भन्दै बरालिएको एमालेलाई सही ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने ल्याकत काँग्रेसले राख्नुपर्ने बताए ।