काठमाडौं : नेपाली कांग्रेसले सात प्रदेशमा पार्टीको अधिवेशन सम्पन्न गर्नका लागि सात नेतालाई संयोजक तोकेको छ। आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सात नेतालाई प्रदेश अधिवेशन मुल आयोजक समितिको संयोजक तोकेर अधिवेशन गर्ने जिम्मेवारी दिएको हो।
महामन्त्री पूर्णबहादुर खड्काले राखेको प्रस्तावलाई बैठकले निर्णय गरेको हो। जसअनुसार प्रदेश नम्बर १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला प्रदेश अधिवेशन आयोजक समितिका संयोजक तोकिएका छन्।
प्रदेश अधिवेशन भने विराटनगरमा हुनेछ। यस्तै प्रदेश नम्बर २ मा रमेश रिजाललाई संयोजक तोकिएको छ। अधिवेशन जनकपुरधाममा हुनेछ। यस्तै बागमती प्रदेशमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गर्ने र अधिवेशन हेटौंडामा गरिने भएको छ।
गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठको नेतृत्वमा आयोजक समिति बनेको छ भने पोखरामा अधिवेशन हुनेछ। लुम्बिनी प्रदेशमा बालकृष्ण खाँणलाई प्रदेश अधिवेशन गराउने जिम्मेवारी दिइएको छ भने अधिवेशन बुटवलमा हुनेछ।
कर्णाली प्रदेशमा जीवनबहादुर शाहीको नेतृत्वमा आयोजक समिति बनेको छ भने अधिवेशन सुर्खेतमा हुनेछ। पार्टी सभापति शेरबहादुर देउवाको प्रदेश सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई प्रदेश अधिवेशन आयोजक समितिको संयोजक तोकिएको छ। अधिवेशन धनगढीमा हुनेछ।
यी सात जना नेताको संयोजकत्वमा बनेको आयोजक समितिमा प्रदेश सभा संसदीय दलका नेता, प्रदेश सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलगायत समिति सदस्यमा रहनेछन्।
कांग्रेसले संघीय संरचनामा गएपछि पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो। कांग्रेसको प्रदेश अधिवेशन यही मंसिर १६ र १७ गते सातै प्रदेशमा हुनेछन्। कांग्रेसले केन्द्रीय महाधिवेशन भने कांग्रेसले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा गर्ने भएको छ।
बैठकले महाधिवेशनका लागि विभिन्न उपसमितिहरू पनि गठन गरेको छ। महाधिवेशनका लागि अर्थ संकलनका लागि सञ्चार मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ। भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेले जिम्मेवारी पाएका छन्।
विदेशी पाहुना स्वागतका लागि प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ। प्रचार संयोजकमा प्रवक्ता विश्वप्रकाश शर्मा छन्। मञ्च व्यवस्थापन काठमाडौं सभापतिको नेतृत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य छन्।
स्वास्थ्य क्षेत्रको जिम्मेवारी मोहनबहादुर बस्नेतलाई दिइएको छ। सांस्कृतिक समितिमा सीता गुरूङ संयोजक छन्। साथै कांग्रेसले अबदेखि नीति र नेतृत्व महाधिवेशन फरक–फरक गर्ने तयारी गरेको छ।
प्रवक्ता शर्माका अनुसार अहिले नेतृत्व महाधिवेशन गर्ने र अब आउने नेतृत्वले उचित समयमा नीति महाधिवेशन गर्नेबारे छलफल भएको हो।