काठमाडौं । नेकपा एमालेले १०औँ महाधिवेशनका लागि आज एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । एमालेले वडा, नगर, गाउँ अधिवेशन सम्पन्न गरिसकेको छ भने मंसिर १०–२ मा चितवनमा १०औं महाधिवेशन गर्दैछ । यद्यपि, कतिपय जिल्लामा सहमतिका आधारमा यसअघि नै प्रतिनिधि चयन भइसकेका छन् ।
एमालेले एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ । यसअघि एक हजार पाँच सय सदस्य बराबर तीन जना छनोट गर्ने व्यवस्था रहेको थियो ।
त्यस्तै एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ । जसअनुसार, आठ सय जना बराबर एक जना महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ ।
संगठित सदस्यको संख्या आठ लाख नाघिसकेको एमाले प्रचार विभागले जनाएको छ । एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दै छ । प्रदेश र सोसरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन हुने छन् ।




