November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बाबुराम भट्टराईलाई ओलीको प्रश्न– कुन खर्चले छोरीलाई बेलायत बढाउनुभो ?

२०७८ कार्तिक २१

4.2K

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई कहाँको पैसाले छोरी मानुषीलाई बेलायतमा पढाएको भन्ने प्रश्न गरेका छन् ।

एमालेले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा ओलीले डा भट्टराईको छोरी बेलायतमा पढेको भन्दै कहाँको पैसाले पढाएको भनी प्रश्न गरेका छन् । ‘महिनाको कमसेकम पाँच लाख खर्च हुने ठाउँमा कसरी छोराछोरी पढाउनुभएको थियो ? भूमिगत हिन्दाखेरि कहाँको आम्दानीले ? बाबुरामका छोराछोरी त बेलायत पढ्थे । हामी बेलायत जाने भिषा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिषा पाउथे, के कारणले होला?’, ओलीले भने ।

कुन पासपोर्टबाट भिषा लागेको र कहाँ छोराछोरी पढाएको भन्दै बाबुरामलाई प्रश्नसमेत गरेका छन् ।

Advertisement

‘बाबुरामका छोराछोरीले भिषा पाउँथे, के जादु होला,’ उनले भने, ‘एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरी, कुन पासपोर्टबाट जानुभएको र कहाँको भिषा लागेको थियो बाबुरामजी बताउनुस् त ।’

एमाले अध्यक्ष ओलीले प्रश्न गरेको केहीबेरमा ट्वीटमार्फत् जवाफ दिँदै भट्टराईले ओलीले तथ्यहीन कुरा गरेको बताएका छन् ।

‘मित्र खड्गप्रसादजी, पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन । हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला सँगै गएर सँगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नुस्,’ भट्टराईले ओलीलाई जवाफ दिँदै भनेका छन् ।