काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सुधारको बाटोमा अगाडि बढेको बताएका छन् । नेपाली कांग्रेस भिमाद नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले कांग्रेस सुधारको बाटोमा अगाडि बढ्न खोजेको आभाष हुन थालेको बताए ।
वरिष्ठ नेता पौडेलले भने, कांग्रेसमा लहर आएको र यसले नेपालमा लोकतन्त्रको भविष्य सुनिश्चित छ भन्ने आभाष हुन थालेको बताए । उनले तल्लो तहबाटै कांग्रेसमा आकर्षण बढेको उल्लेख गर्दै कांग्रेसलाई सुधार र सिद्धान्तको बाटोमा अगाडि बढाउने सङ्कल्प देखा परेको पनि बताए ।
“सुदूरपश्चिमदेखि पूर्वसम्म, हिमालदेखि तराईसम्म कांग्रेसमा नयाँ जागरण देखा परेको छ । यसले निश्चय नै नेपालको राजनीति, लोकतान्त्रिक मान्यता र परिवर्तनलाई संस्थागत गर्न सहयोग पुग्छ ।”, पौडेलले भने ।
तनहुँका दशवटै पालिकाबाट विजयी भएर आएका सबै नेता तथा कार्यकर्तामा आफ्नो अनुहार देखेको भन्दै वरिष्ठ नेता पौडेलले यो वा त्यो भनेर कित्ता छुट्याउन नहुनेमा जोड दिए ।