काठमाडौ । भारतीय जनता पार्टीको निमन्त्रणामा नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ । टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा छन् ।
पाँच दिनको भ्रमणका क्रममा उनीहरूले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
पूर्वपरराष्ट्र मन्त्री समेत रहेका सहमहामन्त्री महतको आमन्त्रणामा केही हप्ताअघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थियो । त्यस भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सहमहामन्त्री महतसहित नेपाली कांग्रेस र अन्य राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए ।
त्यसपछि भारतीय जनता पार्टीको आमन्त्रणामा महत नेतृत्वको टोली आज भारत लागेको हो ।
दिल्ली प्रस्थान गर्नुअघि महतले यो भ्रमणले नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्न सहयोग गर्ने बताए ।
उनले भने,’केहीअघि भारतीय जनता पार्टीका नेता नेपाल आउनुभयो र आज हामी भारततर्फ जाँदैछौं, दुई दलबीचको यो भ्रमण आदानप्रदानले आपसी समझदारी र एक अर्काप्रतिको बुझाइमा सहयोग पु¥याउने छ ।’
यस्ता भ्रमणका क्रममा आपसी समझदारीमा वृद्धि हुनुका साथै दुई दल र त्यसमार्फत् दुवै देशका सरकारसमक्ष आफ्ना सरोकारका कुरा राख्न र आफ्ना विषयवस्तु बुझाउन पनि मद्दत पुग्ने उनले बताए ।
नेपाली कांग्रेसको यो प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीको नेतृत्वमार्फत् नेपालको चासो, हित र सरोकारका विषय भारत सरकारसमक्ष पु¥याउन पनि मद्दत पुग्ने उनले बताए ।