काठमाडौं : नेकपा एमालेको विधान महाधिवेशनमा चार समूहका टोली नेताले आज सुझाव प्रस्तुत गरेका छन्।
१० समूहमध्ये चारले शनिबार सुझाव प्रस्ताव गरेको र बाँकी ६ समूहका नेताले भोलि आइतबार राख्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
महाधिवेशनमा पेस भएका राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफलमा आएका सुझावहरूलाई समूहका नेताले प्रस्तुत गरेका हुन्।
सचिव तामाङका अनुसार कर्णालीबाट गोरखबहादुर बोगटी, लुम्बिनीबाट लीला गिरी, सुदूरपश्चिमबाट कर्ण थापा र बागमतीबाट आनन्द पोखरेलले प्रदेशगत समूहको सुझाव प्रस्तुत गरेका छन्।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि १० वटा समूहमा छलफल भएको थियो। समूहका टोली नेताले छलफलबाट आएको सुझावलाई प्रस्तुत गरेका हुन्।