November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

देउवाको गृह जिल्लामै क्रियाशील सदस्यता विवाद, नाम थप–घट गरिएको आरोप

3.7K

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह डडेल्धुरामै क्रियाशील सदस्यता विवाद देखिएको छ । विवादकै कारण २५ भदौमा तोकिएको वडा अधिवेशन अन्यौलमा परेको छ ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको डडेल्धुराको क्रियाशील सदस्यको नामावलीमा जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले आपत्ति जनाएको छ । जिल्लाले पठाएको क्रियाशील सदस्यता सूचीमा व्यापक नाम थपघट भएको आरोप मल्ल पक्षको छ । जिल्लाबाट समायोजनसहित पाँच हजार आठ सय चार जनाको क्रियाशील सदस्यको नाम पार्टीको आधिकारिक वेवसाइटमा इन्ट्री गरिएकोमा ४६० जनाको नाम काटिएको डडेल्धुरा पार्टी कार्यालयका सचिव रामबहादुर विष्टले जानकारी दिए ।

‘चार वटा तहबाट सिफारिस गरेर जिल्लाबाट इन्ट्री भएका क्रियाशील सदस्यता सूचीसहित निर्णय पनि केन्द्रमा पठाएका थियौं,’ उनले भने, ‘तर केन्द्रले सार्वजनिक गरेको नामावलीमा ४६० जनाको नाम काटिएको छ ।’

Advertisement

क्रियाशील सदस्यता सूचीबाट आफ्नो नाम हटाएको भन्दै अमरगढी नगरपालिका–९ का वडा सभापति नरबहादुर पालले कपाल मुण्डन गरेर पार्टीविरुद्ध किरिया बसेका छन् । उनका अनुसार जिल्लाले नपठाएका ३१२ जनाको नाम केन्द्रबाट थपिएको छ । तर केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका एक सदस्यका अनुसार डडेल्धुरामा समायोजनमा छुटेका क्रियाशील सदस्यको नाम थपिएको हो ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनअघि नेकपा माओवादी केन्द्रका नेता जनकराज कलौनी कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिले कलौनीलाई एक हजार क्रियाशील सदस्यता दिने निर्णय गरेको थियो । तर जिल्लाबाट उनले सिफारिस गरेका नाममध्ये करिव एक सय जनाको नाम मात्रै इन्ट्री भएको थियो ।

कांग्रेस सभापति देउवा निकट डडेल्धुराका एक नेताले समायोजनबाट आएका क्रियाशील सदस्यको नाम जिल्लाले हटाएकाले केन्द्रबाट थपिएको दावी गरे । ‘जिल्लाले नै नाम पठाउँदा प्रक्रिया मिच्ने काम भएको थियो,’ ती नेताले भने, ‘अहिले त्यसलाई छानविन समितिले थोरै भएपनि सम्बोधन गरेको छ । जिल्लाले नाम पठाउँदा नै एकपक्षीय रुपमा इन्ट्री गरेको थियो ।’

जिल्ला सभापति मल्ल पक्षले भने केन्द्रबाट गुट हेरेर क्रियाशील सदस्यको नाम काट्ने र थप्ने काम गरिएको आरोप लगाएको छ । ‘स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवारको नाम क्रियाशील सदस्य सूचीबाट हटाएको छ, भने कहीँ बागी उम्मेदवारका समर्थकको नाम सूचीमा थपिएको छ,’ कांग्रेस जिल्ला पार्टी कार्यालय सचिव विष्टले भने, ‘क्रियाशील सदस्यता शतप्रतिशत वृद्धि गर्ने निर्णय अनुसार थपिएका क्रियाशील सदस्यको नाम हटाइएको छ । तिनीहरुको ठाउँमा केन्द्रबाट नाम थपिएको छ ।’

क्रियाशील सदस्यता सूचीबाट आफ्नो नाम हटाएको भन्दै अमरगढी नगरपालिका ९ का वडा सभापति नरबहादुर पालले कपाल मुण्डन गरेर पार्टीविरुद्ध किरिया बसेका छन् । कांग्रेसमा आफूले गरेको ३० वर्षको लगानी सिध्याउने खेल भएको उनको आरोप छ । ५२ वडा रहेको डडेल्धुरामा अधिकांश वडामा क्रियाशील सदस्यता विवाद देखिएको हो ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत १८ भदौदेखि वडा अधिवेशन सुरु भएको छ । डडेल्धुरामा विवादका कारण शनिबार साँझ मात्र केन्द्रीय निर्वाचन समितिले अन्तिम क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको हो ।

क्रियाशील सदस्यतामा देखिएको विवाद सुल्झाएपछि मात्रै वडा अधिवेशन हुने जिल्ला सभापति मल्ल पक्षको दावी छ । निर्वाचन समितिले डडेल्धुरामा वडा अविधेशनका लागि निर्वाचन अधिकृत पठाइसकेको छ ।
सभापतिका आकांक्षीहरूको गृह जिल्लामै वडा अधिवेशन अनिश्चित
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत यही भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु गरिएको छ । निर्वाचन समितिका अनुसार भदौ २३ सम्म ५६ जिल्लाको वडा तहमा अधिवेशन सम्पन्न हुँदैछ ।

तर, कृष्णप्रसाद सिटौला नेतृत्वको क्रियाशील विवाद समाधान समितिले जिल्ला–जिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरणमा देखिएको विवाद समाधान गर्न नसक्दा २१ जिल्लाको वडा अधिवेशनको अन्योल कायमै छ ।

वडा अधिवेशन नभएका जिल्लाहरूमध्ये अधिकांश १४औं महाधिवेशनमा सभापतिका आकांक्षीहरूको जिल्ला रहेको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै गृह जिल्ला डडेलधुराको वडा अधिवेशन गराउन सकेका छैनन् । वरिष्ठ नेता तथा आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा भने वडा अधिवेशन सम्पन्न भइसकेको छ । सभापतिका अर्का आकांक्षी गोपालमान श्रेष्ठको गृह जिल्ला स्याङ्जामा पनि वडा अधिवेशन सम्पन्न भएको छ ।

यस्तै, कांग्रेस महामन्त्री तथा सभापतिका अर्का आकांक्षी शशांक कोइरालाको गृह जिल्ला नवलपरासीमा पनि वडा अधिवेशन सम्पन्न भएको छ । तर, केन्द्रीय महाधिवेशनमा सभापतिका अर्का आकांक्षी उपसभापति विमलेन्द्र निधिको गृह जिल्लामा भने वडा अधिवेशन हुन सकेको छैन । निधि धनुषाबाट प्रतिनिधित्व गर्छन् । धनुषामा संगठन समायोजन, फर्जी क्रियाशीलको लफडालगायत विवाद छ ।

सभापतिकै अर्का आकांक्षी डा. शेखर कोइरालाको गृह जिल्ला मोरङमा पनि वडा अधिवेशन हुन सकेको छैन । ‘खै क्रियाशीलको सूची नै आएको छैन, अधिवेशन त कहिले हुन्छ भन्ने नै भएन’, मोरङबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य गुरु घिमिरे भन्छन् । यस्तै, पूर्वमहामन्त्री तथा १४औं महाधिवेशनमा सभापति लागि उमेदवारी घोषणा गरिसकेका नेता प्रकाशमान सिंहको गृह जिल्ला काठमाडौंमा पनि वडा अधिवेशन सुरु हुन सकेको छैन ।