काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिले ५६ जिल्लामा वडा अधिवेशन धमाधम भइरहेको छ ।
क्रियाशील सदस्यता सार्वजनिक भएकामध्ये धेरै जिल्लामा वडा अधिवेशन सर्वसम्मत भएका छन् । केहीमा भने निर्वाचनमार्फत वडा कमिटी चुनिएका छन् ।
७७ जिल्लामध्ये २१ जिल्लामा भने कांग्रेसको वडा अधिवेशन तत्काल नहुने भएको छ । नेपाली कांग्रेसले २३ भदौभित्र वडा अधिवेशन सम्पन्न गरी क्षेत्रीय प्रतिनिधि निर्वाचित छान्ने र २७ भदौमा पालिका अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
तर, २१ जिल्लामा क्रियाशील विवाद टुंग्याउन बाँकी रहेकाले ती जिल्लामा वडा र पालिका अधिवेशन दुवै प्रभावित बन्ने भएको हो । विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपाल, सुनिलबहादुर थापा राप्रपा र अखण्ड नेपाल पार्टीबाट आएकाहरूको क्रियाशील सदस्यता विवादका कारण २१ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन नहुने निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए ।
‘लोकतान्त्रिक फोरम अहिले पहिले पठाएको नाम र अहिले क्रियाशील सदस्यता नवीकरण गर्दा पठाएका नामको छानबिन हुँदैछ’, उनले भने, ‘जसले गर्दा विवाद टुंगो लगाउन केही समय लाग्ने भएकाले २३ भदौभित्र २१ जिल्लामा वडा अधिवेशन सम्भव छैन ।’
खासगरी प्रदेश १ र २ मा क्रियाशील विवाद टुंगिन बाँकी भएको उनले बताए । ‘आजै विवाद टुंग्याए पनि निर्वाचन अधिकृत तोक्न र जिल्ला जिल्ला पठाउन, चुनावी सामग्री छपाइ गर्न पनि सम्भव छैन’, उनले भने, ’त्यसैले २१ जिल्लामा २७ भदौमा हुने पालिका अधिवेशन समेत हुने सम्भावना छैन ।’
कांग्रेसले ७७ वटै जिल्लाका ६,७४३ वटा वडामा भदौ १८ गते वडा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । अरू दलबाट समायोजन भएर आएकालाई सदस्यता दिने मापदण्डका विषयमा २१ जिल्लाको सदस्यता सूची अड्केको नेताहरू बताउँछन् ।
प्रदेश–१ मा मोरङको सदस्यता सूची सार्वजनिक भएको छैन । प्रदेश–२ का सबै ८ जिल्लाहरु सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्साको सूची आउन बाँकी छ ।
बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं र रसुवा, लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दिया, कर्णाली प्रदेशका डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका बाजुरा, डडेलधुरा र कैलालीको पनि सदस्यता सार्वजनिक भएको छैन ।