काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।
शनिबार बसेको पार्टीको पदाधिकारी बैठकमा सभापति देउवाले घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र त्यसमा संलग्न अन्य कार्यकर्ताहरुलाई कारबाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले छानबिन समितिका सदस्यमाथि आक्रमण गर्ने नेता कार्यकर्ताहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण लिएर तीन दिनभित्र कारबाही गर्न देउवाले निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
बस्नेत नेतृत्वको टोलीले शुक्रबार विहान पार्टीका घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेको थियो। सो घटना पार्टीको अनुशासन विपरित रहेको निष्कर्ष निकाल्दै बैठकले कारबाही गर्न निर्देशन दिएको छ।
बैठकले क्रियाशील सदस्यता छानबिन समितिलाई सहयोग गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेको छ। विधिसम्मत प्रक्रियालाई आत्मसात गर्दै समितिले काम गरिरहेको र त्यसलाई सहयोग गर्न पनि पार्टी पंक्तिलाई आह्वान गरिएको प्रवक्ता शर्माले बताए।
बैठकले महाधिवेशनको क्रममा कुनै पनि खालको अराजक गतिविधि नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको छ। कांग्रेसको १४ औं महाधिवेशन आगामी भाद्र १६–१९ गते हुने मिति तय गरिएको छ।