November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेस सांसदको आरोप– सरकार कमिसन र दलालीले घेरिँदा कोभिड खोप आएन

2.4K

काठमाडौं– नेपाली काग्रेसका राष्ट्रिय सभा सदस्य (सांसद) जितेन्द्र नारायण देवले सरकार कमिसन दलालीले घेरिँदा भारतबाट पैसा तिरेको कोभिसिल्ड खोप नआएको आरोप लगाएका छन्।

यो कुरा आफूले भनेको नभइ तत्कालीन स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले सार्वजनिक रुपमा भनेको पनि देवले दाबी गरे । ‘खोप ल्याउन नसक्दा सरकार असफल भएको छ। कमिसनको घेरामा सरकार घेरिँदा भारतबाट कोभिसिल्ड नआएको हो यो कुराको महसुस गर्ने कि नगर्ने ?’ बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै देवले भने, ‘कूटनीतिक वार्ता कसले गर्ने ? राष्ट्रपतिले गर्ने हो ? अहिलेको सरकारले परराष्ट्र मन्त्रालयलाई पङ्गु बनाएको छ । ’

सरकारको गलत नीतिका कारण अहिले परराष्ट्र मन्त्रलाय फेल भएको पनि देवले आरोप लगाए।   ‘कूटनीतिक फेलका कारण हामीले खोप ल्याउन सकेनौं। यसलाई सरकारले महसुस गर्नु पर्छ, तयार छ कि छैन?’ उनले भने ‘कुनै देशमा राष्ट्रपतिले खोप मागेर पत्र लेखेको सुनिएको छ ? यो बच्चपन कुटनीतिक मूभ हो । यस्तो काम गर्नु हुँदैन  थियो।’  

Advertisement

पत्र लेख्नै पर्ने अवस्था थियो भने प्रधानमन्त्री  वा परराष्ट्रमन्त्रीले लेख्नुपर्ने देवको भनाइ थियो। तर,  राष्ट्रपतिलाई अघि सार्दै सरकार कूटनीतिक रुपमा असफल सावित भएको उनले आरोप लगाए।