November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

ओलीले एकता नचाहेको पुनर्पुष्टि भयो: नेपाल पक्ष

2.8K

काठमाडौं- नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एकताबद्ध बनाउन नचाहेको पुनर्पुष्टि भएको टिप्पणी गरेको छ। शुक्रबार बालुवाटारमा बोलाइएको केन्द्रीय कमिटी बैठकलाई इंगित गर्दै नेपाल पक्षले यस्तो टिप्पणी गरेको हो।

शुक्रबारको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेका नेपालसहित २३ जना सांसदलाई तीन दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिने निर्णय गरेको थियो। हस्ताक्षर फिर्ता नलिए ‘एमालेलाई फुटतर्फ लैजाने प्रयत्न गरेको बुझिने’ चेतावनी ओलीले दिएका थिए।

नेपाल पक्षले आफूहरुलाई तर्साउन खोजिएको भन्दै त्यसको कुनै अर्थ नरहेको बताएको छ। ‘यो पहिलोपटक होइन, पटकपटक भएको छ। यसको केही अर्थ छैन’, नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले भने, ‘बालुवाटारबाट फर्मान जारी गर्दैमा फिर्ता लिनलाई हस्ताक्षर गरिएको होइन।’

Advertisement

उनले आफूहरुले चाहेर मात्र एकता हुँदैन भन्ने पुनर्पुष्टि भएको समेत बताए। ‘वार्ताको वातावरण बनाउन खटिएका साथीहरुले आजै बिहान मात्र पनि बालुवाटार पुगेर बैठक एक/दुई दिन स्थगित गरौं, हामी वातावरण मिलाउँछौं भनेर ओलीलाई आग्रह गर्नुभएको थियो, तर मान्नु भएन’, उनले भने, ‘उहाँहरु यसैगरी अगाडि बढ्न खोजेको हो भने त अब संवादको च्याप्टर पनि क्लोज भयो।’ 

उनले बैठक बसेर यसबारे औपचारिक धारणा सार्वजनिक गरिने बताए।

ओली र नेपाल पक्षलाई संवादमा ल्याउन निरन्तर प्रयत्न गरिरहेका नेपाल पक्षका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले भने अन्तिसम्म पनि सहमतिको प्रयत्न जारी राखिने बताए। ‘तर, आज जे निर्णय भएको छ, त्यसले सहमतिको वातावरणलाई सघाउ पुर्‍याउँदैन’, विष्टले भने।