November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पौडेललाई सुझाव : सबैलाई स्वीकार्य हुने टिम बनाएर प्रस्ताव गर्नुस्

2K

काठमाडाैं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई महाधिवेशनमा आफ्नो समूहबाट सर्वस्वीकार्य हुने टिम बनाएर प्रस्ताव गर्न सुझाइएको छ।

सबैलाई मिलाउनसक्ने क्षमता वरिष्ठ नेता पौडेलले प्रदर्शन गर्नुपर्ने उनीहरूको सुझाव थियो। बैठकमा उठेका विषयबारे नेता गुरुराज घिमिरेले भने, ‘सबैभन्दा पहिलो विकल्प रामचन्द्रजीले सबैलाई मिलाउनसक्ने क्षमता देखाउनुपर्‍यो।’

अर्को विकल्पमा पौडेलले आफू अभिभावकीय जिम्मेवारी लिएर अर्को पुस्तालाई अघि सार्न सुझाव दिइएको छ। आफ्नो पक्षमा अघि सारिएको उम्मेदवार सर्वस्वीकार्य हुन नसके युवा पुस्ताबाटै उम्मेदवार बन्नसक्ने नेता घिमिरेले बताए।

Advertisement

सहभागी नेताहरुको धारणा सुनेपछि पौडेलले भने, ‘मलाई एक पटक सभापति बन्ने रहर छ। शेरबहादुर देउवा र मलाई एउटै बास्केटमा नराख्नुस्। मैले स्वच्छ राजनीति गर्दै आएँ।’

पार्टी र देशको चुनौती व्यवस्थापन गर्ने क्षमता आफूमा भएको उनले बताए। सुरक्षित लोकतन्त्र र व्यवस्थित पार्टी बनाउने आफ्नो ध्येय रहेको उनले सुनाए।

नेताहरुबीच साझा उम्मेदवार बनाउने विषयमा कुनै समझदारी बैठकमा बन्न भने सकेन। पौडेलसहित महामन्त्री डा. शशाङ्‍क कोइराला, नेताहरु डा. प्रकाशमान सिंह र डा. शेखर कोइरालाले आफ्नो दाबी पनि प्रस्तुत गरे। सिंहले पौडेललाई भने, ‘म सभापतिमा उठ्ने तपाईंलाई पहिलेदेखि नै भन्दै आएको छु। उम्मेदवारीबाट पछि हट्दिन।’

सभापतिमा दाबी गर्नेमा नेता अर्जुनरसिंह केसी पनि देखिए। साझा उम्मेदवारमा सहमति हुन नसके आफू पनि अघि सर्ने उनले बताए। सिंहले अर्को विकल्प पनि सुझाएका थिए। उनले बैठकमा भने, ‘हामीबिच साझा उम्मेदवार तय गर्न सकिन्न भने युवा पुस्तालाई जिम्मेवारी दिऔँ। हामी सल्लाहकार बनेर बसौँ।’