काठमाडौं- बुधबारका लागि तोकिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुने नहुनेबारे अन्याेल सिर्जना भएको छ। पार्टीको सचिवालय कमिटी र स्थायी कमिटीमा समेत अल्पमतमा परेका ओलीले बुधबारको बैठकलाई छल्ने तयारी गरेको बुझिएको छ।
बुधबारको बैठकमा ओलीले आफू अरु नै काममा व्यस्त भएकाले उपस्थित हुन नसक्ने मंगलबारकै बैठकमा बताएको स्रोतको दाबी छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि बुधबार पार्टी सचिवालय कमिटीको बैठकबारे आफूलाई कुनै जानकारी नभएको बताए। बुधबार बस्ने सचिवालय बैठकबारे जिज्ञासा राख्दा उनले भने, ‘बुधबारको बैठकबारे जानकारी छैन।’
प्रधानमन्त्री एवं अध्यक्ष ओलीका प्रेस सल्लाहकार थापाले बुधबारको सचिवालय बैठकबारे जानकारी छैन भनेपछि हामीले अर्का अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटासँग पनि जिज्ञासा राखेका थियौं। तर सापकोटाले भने निर्धारित सयम र स्थानमा बुधबार सचिवालय बैठक बस्ने बताए।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजे पुनः बैठक बस्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए।