काठमाडौँ – नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरपछि बस्ने बैठकमा पार्टी एकता जोगाउन मध्यम तहका नेताहरूले गरेको प्रयासको विषयमा छलफल हुनेछ ।
पार्टी फुटबाट रोक्न प्रधानमन्त्री ओली र नेता माधव नेपाल पक्षका नेताहरू रहेको कार्यदल निष्क्रिय रहे पनि दुवै पक्षका मध्यम तहका नेताहरूले छलफल गरिरहेका छन् । हिजो राति पनि गोकर्ण विष्ट, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायतका नेताहरूबीच भेटवार्ता भएको थियो ।
अध्यक्ष केपी शर्मा ओलीले वार्ता गर्न कार्यदल बनाउने र नेताहरूलाई कारबाही पनि गर्ने दोहोरो चरित्र देखाएको भन्दै माधव नेपाल पक्षका नेताहरू रुष्ट बनेका छन् । आजको स्थायी कमिटीको बैठक माधव नेपाल पक्षप्रति नरम बनेरै भए पनि पार्टी एकता जोगाउन मध्यम तहका नेताहरूले प्रस्ताव राख्ने तयारी गरिरहेका छन् ।