November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमाले स्थायी कमिटी बैठक आज पनि बालुवाटारमा बस्दै

3.7K

काठमाडौं– नेकपा (एमाले)को स्थायी कमिटी बैठक सोमबार (आज) बिहान १० बजे बस्दै छ। यसअघि आइतबार बस्ने भनिएको बैठक आजका लागि सरेको हो।

आइतबार आन्तरिक तयारी तथा केही नेताको कार्यव्यस्ताताका कारण स्थगित भएको बैठक   सोमबार बिहान १० बजे बालुवाटारमै बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकमा विशेष गरी शनिवार अध्यादेशमार्फत ल्याइएको बजेटको समीक्षा  तथा पार्टीको आन्तरिक वातावरणबारे छलफल हुने उनको भनाइ छ।  पछिल्लो समय एमालेमा पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै  नेता तथा सांसदहरुलाई कारबाही गर्ने क्रम जारी छ। आजको बैठकले पनि केही नेतालाई कारबाही गर्न सक्ने तामाङले बताए।

Advertisement

यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको बताउँदै उनले आजको बैठकमा ती सांसदलाई गरिने कारबाहीबारे केही निर्णय हुन सक्ने संकेत गरे।

स्थायी कमिटी बैठकले यसअघि स्पष्टीकरण साेधिएका १२ जनामध्ये कतिपयलाई कारबाही गर्नसक्ने कार्यालय सचिव तामाङले बताए। लिखित रुपमा कसैले नपठाए पनि कतिपयले मौखिक रुपमा नेतृत्वसँग छलफल गरेको उनले बताए। 

यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिसकिएको बताइएको छ। 

स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।