इलाम – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा कुनै हालतमा नफुट्ने दाबी गरेका छन्। नेकपाभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्न पनि बताए।
सोमबार गृह जिल्ला इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अस्पताल शिलान्यास कार्यक्रममा उनले भने, ‘नेकपा फुटिदिन्छ कि मैले ठूलो भाग खान पाउँछु कि। मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ। अहिलेदेखि कसैले रोटी बेल्दैछ भने सेकाउने ठाउँ पाउनुहुन्न।’
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले नेकपाको अहिलेको छलफल र बहस देखेर पार्टी फुटको संघारमा पुगेको अड्कलबाजीहरु मिथ्या सावित हुने बताए। मिडियाले प्रचार गरे जस्तो नेकपा कच्चा नभएको उनले जिकिर गरे।
‘खास गरेर मिडियामा बसेका कच्च मानिसहरुले गलत कुराको प्रचार गरिरहेका छन्। नेकपा फुट्छ भनेर कुर्लिएका छन्। तर म तपाईहरुलाई भन्छु नेकपा फुट्दैन, नेकपा टुट्दैन यो स्पातले बनेको पार्टी हो। यसलाई कसैले पनि फुटाउन सक्दैन्,’ वरिष्ठ नेता खनालले भने, ‘पार्टीभित्र अहिलेको चलेको बहस र छलफलले अझै मजबुत बनाउँछ।’
अहिलेको बहस पार्टीको एकताको पक्षमा रहेकाले नडराउन नेता खनालले कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। ‘नेकपालाई कसले फुटाउन सक्छ? कुन नीतिले फुटाउन सक्छ? कुन कानुनले फुट्न सक्छ? हामी चुनौती दिन चाहन्छौ,’ उनले भने, ‘हामीलाई फुटाउने भनेको संविधान बमोजिम, कानुन बमोजिम फुटाउन सक्नुपर्छ। तर संविधान र कानुनले पार्टी फुटाउन दिँदैन तसर्थ हामी पार्टीलाई जोड्ने पक्षमा छौं। बहस र छलफलबाट आतिनुपर्ने कुरा छैन।’