March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

एमालेको विवाद सुल्झाउन गठित कार्यदलको पहिलो बैठक आज बस्दै

2.8K

काठमाडौँ – नेकपा एमालेको विवाद सुल्झाउन गठित कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ ।

आइतबार गठित कार्यदल सदस्य भीम रावलको स्वास्थ्यमा केही समस्या भएपनि बैठक नसर्ने सदस्य गोकर्ण विष्टले जानकारी दिए ।

‘धेरै ठूलो समस्या होइन । आँखामा सामान्य समस्या भएको हो । बैठक आजै बस्छ, सर्दैन’, काठमाण्डुपाटीसँग नेता विष्टले भने ।

Advertisement

उनले समय र स्थानको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए । आजको पहिलो बैठकले पार्टीका समस्या समाधानबारे छलफल हुनेछ । कार्यदलले तयार पारेको खाकाका आधारमा पार्टीभित्रका समस्या सुल्झाउँदै जाने वरिष्ठ नेता माधव नेपालले जानकारी दिए ।

आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाएका थिए । कार्यदलमा दुवै पक्षका ५/५ जना सदस्य रहेका छन् ।

कार्यदलको सदस्यमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट छन् ।