काठमाडौं – नेकपा (एमाले)को विवाद समाधान गर्न १० सदस्यीय कार्यदल गठन भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बताएअनुसार विवाद समाधानका लागि दुवै पक्षबाट ५÷५ सदस्य रहने गरि कार्यदल गठन भएको हो ।
कार्यदलमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङ नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् ।
नेता नेपालले बताएअनुसार कार्यदललाई सुझाब प्रतिवेदन तयार गर्न तीन तिनको समयसीमा दिइएको छ ।
सञ्चारकर्मीहरुसँग जानकारी दिँदै नेता नेपालले भने, ‘जेठ २ भन्दा पहिलोको अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको छ । मैले तीन दिन भनेको छु, अलि समय बढाउँ भन्ने भएको छ ।’
शुक्रबार सम्पन्न वार्ताको निष्कर्षबमोजिम आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच ‘वान टु वान’ वार्ता भएको थियो ।