November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कारबाही फिर्ताको निर्णयले माधव पक्ष उत्साहित

1.6K

काठमाडौं – माधवकुमार नेपालसहित उनी पक्षीय नेताहरुमाथि कारबाही फुकुवा गरिएसँगै एमालेमा विश्वासको वातावरण देखिएको छ । कारबाही फुकुवाप्रति माधव पक्षीय नेताहरु निकै उत्साहित पनि देखिएका छन् ।

माधव पक्षीय नेता योगेश भट्टराईले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती सच्याएको टिप्पणी गरे । उनका अनुसार सर्वोच्चको आदेशअनुसार २०७५ जेठ २ मा फर्किनुपर्ने माग सम्बोधन भयो भने सहमती हुन्छ ।

‘हाम्रो मुख्य कुरा भनेको २०७५ जेठ २ गतेको अवस्थाबाट नेकपा ९एमाले०लाई सञ्चालन गर्नुपर्छ भन्ने हो । त्यसमा अध्यक्षबाट सकारात्मक सम्बोधन हुनेछ भन्ने अपेक्षा छ’, उनले भने, ‘यो कारबाही गर्नु आवश्यक थिएन । उहाँहरूले गल्ती गर्नुभएको थियो, आफ्नो गल्ती सच्याउनुभयो ।’

Advertisement

यता माधव पक्षका अर्का नेता सुरेन्द्र पाण्डेले पनि कारबाही फिर्ताको निर्णय निकै सकारात्मक भएको टिप्पणी गरे । उनले अन्य समस्या पनि हल हुने आशा देखाएका छन् ।

सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भनेका छन्, ‘कारवाही फिर्ता लिने निर्णय सकारात्मक छ । हामीले त हिजो पनि यो गलत भयो भनेका थियौं । अब अरु विषय पनि सकारात्मक ढंगले अध्यक्ष केपी ओलीले हल गर्नुहुन्छ भन्ने आशा गरेका छौं ।’

बिहिबार बालुवाटार बैठक अघि ओली र नेपालबीच फोन वार्ता भएको थियो । फोनवार्तापश्चात नै ओलीले कारबाही फिर्ताको निर्णय लिएका हुन् ।

कारबाही फिर्ताको निर्णयसँगै दुई नेताबीच वार्ताको पनि तयारी भएको छ । बताइएअनुसार माधव समूहका मागमाथि छलफल गर्न दुई नेताबीच वान टु वान वार्ताको तयारी भएको छ ।