November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

‘प्रधानमन्त्री ज्यू अक्सिजन अभावले ठूलो मानवीय क्षति हुने अवस्था आयो, नागरिकलाई बचाउनुस्’: गगन थापा

2.6K

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य (सांसद) गगन थापाले अक्सिजन अभावका कारण ठूलो मानवीय क्षति हुनसक्ने बताएका छन्। 

अहिले अस्पतालहरुले अक्सिजनको व्यवस्थापन गर्न नसकेर बिरामीहरु फिर्ता लैजान भनिरहेको थापाले बताएका छन्। निजी तथा सरकारी अस्पतालका चिकित्सक र व्यवस्थापकले अक्सिजन अभावकै कारण हात उठाउनुपर्ने अवस्था आएको बताउन थालेका थापाको भनाइ छ।

‘संक्रमितको संख्या बढ्दै जाँदा हामीसँग भएको अक्सिजन उत्पादन, वितरण प्रणालीले थेग्न सक्दैन। यसको पूर्वाधारण्मा लगानी गरौं, यसमा ध्यान दिऔं भनेर गएको वर्षदेखि नै सरकारको ध्यानाकर्षण गराएको स्मरण गराउन चाहन्छु,’ सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले भनेका छन्, ‘गएको केही हप्तादेखि ध्यानाकर्षण गराउने कोसिस गराइरहेको छु कि हामीले अक्सिजनको व्यवस्थापनमा ध्यान दिएनौं भने दुर्भाग्यपूर्ण अवस्था आउन सक्छ। गएको रातिदेखि अहिलेसम्म मात्रै मलाई जर्दनौं, चिनेको–नचिनेको मानिसले फोन गरेर अस्पतालले कि अक्सिजन आफैं लिएर आऊ, कि बिरामी लगेर जाऊ भनिरहेको छ भन्ने गुनासो गरिरहेका छन्।’

Advertisement

अस्पतालका व्यवस्थापक, स्वास्थ्यकर्मी र चिकित्सकसँग सम्पर्क गरेर कुरा गर्दा उनीहरुले पनि अक्सिजन पाउन नसकिएको भन्ने जवाफ दिएको थापाले बताएका छन्। 

‘अस्पतालको व्यवस्थापकसँग, स्वास्थ्यकर्मीसँग, चिकित्सकसँग सम्पर्क गरेँ, स्वास्थ्य मन्त्रालयले एक त कोटा नै कम दिएको छ, त्यसमामाथि तोकिएको कोटा पनि उत्पादकहरुले हामीलाई दिइरहेका छैनन्, अब हामीले हात उठाउनु बाहेक विकल्प छैन भनेर भनिराख्नुभएको छ,’ थापाले भनेका छन्, ‘उत्पादकहरुसँग सम्पर्क गर्दा, उहाँहरुसँग सम्पर्क हुँदैन।’ 

सरकारी अस्पतालका चिकित्सकले पनि अक्सिजन नपाएकै कारण बिरामीहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएको भनेर सुनाएको थापाले बताएका छन्। 

‘सरकारी अस्पतालका चिकित्सक (व्यवस्थापन हेरिरहेका)ले पनि बिहान फोनमा कुरा गरेर हामीले पनि हात उठायौं, यो भन्दा बढी नयाँ बिरामी लिन सक्दैनौं, भएकालाई अक्सिजन पुर्‍याउन सकिरहेका छैनौं, अक्सिजनको क्वालिटी राम्रो नहुँदा गम्भीर अवस्थामा रहेका बिरामीलाई बचाउन सकिने अवस्था हुँदा हुँदै पनि बचाउन सकिएन, हाम्रो आँखा अगाडि उनीहरु मरिरहेका छन्, हामीले टुलुटुलु हेरेर बस्न बाध्य छौं भनेर भनिरहेका छन्,’ थापाले भिडियो सन्देशमा भनेका छन्।  

अक्सिजन अभावका कारण काठमाडौं उपत्यकाका र उपत्यका बाहिरका स्थानीय तहले व्यवस्थापन गरेका आइसोलेसन सन्टेर समेत बन्द गर्नुपर्ने अवस्थामा पुगेको थापाले बताएका छन्।

‘काठमाडौं उपत्यकाको नगरपालिकाका एउटा मेयरले बिहानै फोन गरेर हामी अक्जिनको व्यवस्था गर्न सकिरहेका छैनौं, तपाईंहरु सक्नुहुन्छ भने केही व्यवस्था गरिदिनु, हामीले खोलेका आइसोलेसन सेन्टरहरु बन्द गर्नुपर्ने अवस्था आयो भन्दै हुनुहुन्थ्यो,’ थापाले भिडियो सन्देशमा भनेका छन्, ‘काठमाडौं उपत्यका बाहिर पनि अवस्था योभन्दा फरक छैन।’ 

पूर्व मन्त्री थापाले अहिलेको अवस्थामा प्रधानमन्त्री तहको प्रयासबाट अक्सिजनको आपूर्तिमा भएको समस्या समाधान हुनसक्ने बताएका छन्। प्रधानमन्त्रीले अन्य सबै कुरा छाडेर अक्सिजनको आपूर्तिमा देखिएको समस्या समाधानतर्फ ध्यान दिनुपर्ने उनको आग्रह छ। 

‘म प्रधानमन्त्रीज्यूलाई हात जोडेर, विनित भएर आग्रह गर्न चाहन्छु, भोलि के होला थाहा छैन, मलाई सरोकार पनि छैन, यो बेला तपाईं प्रधानमन्त्री हुनुहुन्छ, तपाईंले चाहनुभयो भने सक्नुपनि हुन्छ,’ पूर्वमन्त्री थापाले भनेका छन्, ‘स्वास्थ्य मन्त्रालयले चाहेर यो कुरा गर्न सक्दैन, सीसीएमसीले निर्देशन दिएर यो कुरा सम्भव हुन सक्दैन, यो बेलामा तपाईंको तहबाट प्रयास भयो भने, हस्तक्षेप भयो भने, अक्सिजनको समस्यामा जहाँ गाँठो परेको छ, त्यो गाँठो फुकाउन सकिन्छ।’

प्रधानमन्त्री (केपी शर्मा ओली)ले कुनै बहाना नबनाइ अहिले नागरिकको ज्यान जोगाउने कुरामा ध्यान दिनुपर्ने थापाको आग्रह छ। ‘यो बेलामा सबै कुरा छाडेर, यो–त्यो केही पनि नभनेर, हाम्रा नागरिकहरु, जसको ज्यान हामी बचाउन सकिन्छ, त्यसका लागि म मेरो प्रधानमन्त्रीलाई एकपटक सबै कुरा छाडेर यो अक्सिजनको समस्या हल गरिदिनका लागि आग्रह गर्न चाहन्छु,’ थापाले भनेका छन्।