April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाललाई नयाँ भारतको सहयात्री बनाउँछौं : विदेश सचिव श्रृंगला

2.6K

काठमाडौं – भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल-भारत मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्। एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंमा गरेको एक कार्यक्रममा उनले नेपाल-भारतका पुस्ताप्रति आफूहरु जवाफदेही भएको उल्लेख गरे। उनले दुई देशबीच घनिष्ट मित्रका रुपमा एकसाथ गर्नुपर्नेमा जोड दिएका छन्। 

‘नेपाल र भारत दुवै देशका पुस्ताप्रति हामी जवाफदेही छौं। घनिष्ट मित्रका रुपमा हामीले सँगै काम गर्नुपर्छ’, उनले जोड दिँदै भनेका छन्। 

सचिव श्रृंगलाले कोरोना भाइरस महामारीविरुद्ध दुवै देश मिलेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन्। उनले भारतले कोरोनाविरुद्ध खोप निर्माण तथा आयातका लागि काम गरिरहेको बताउँदै त्यसलाई नेपालमा पनि उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्। 

Advertisement

‘जब खोप आउँछ, नेपालको आवश्यकता पूरा गर्ने हाम्रो प्राथमिकता हुनेछ,’ उनले अगाडि भने। श्रृंगलाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ भारतको सपना देखिरहेको बताउँदै नेपाललाई त्यो यात्राको हिस्सेदार बनाउन चाहेको पनि उल्लेख गरे।

‘हामीले भारतमा मात्र होइन, परपरसम्म हेरेर सपना देखिरहेका छौं। हामी यो सपनालाई वास्तविकतामा बदल्न निरन्तर मेहनत गरिरहेका छौं र नेपालका मित्रहरूलाई हाम्रो यात्राको हिस्सा बनाउन चाहन्छौं,’ उनले भने,‘हामी यो एक्लै गर्न सक्दैनौं, जसरी तपाईंहरू आफ्नो सपना एक्लै पुरा गर्न सक्नुहुन्‍न। हाम्रो क्षेत्रमा, दक्षिण एसियामा, हामी एक-अर्कामा निर्भर छौं, एक-अर्कालाई चाहिन्छौं।’

दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार बिहान काठमाडौं ओर्लिएका विदेश सचिव श्रृंगलाले समकक्षी परराष्ट्र सचिव भरतराज पौड्याल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरिसकेका छन्। 

भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरेपछि दुई देशबीच चिसोपना बढेको छ। यस्तोमा भारतले आफैं नेपालसँग वार्ताको अग्रसरता देखाएको हो।