काठमाडाैं- नेकपा (एमाले)का वरिष्ठ नेतामाधवकुमार नेपाल र झलनाथ खनाल पक्षले प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीलाई जेठ २ गतेकै अवस्था फर्कन र बीचमा गरेका सबै निर्णय खारेज गर्न आग्रह गरेको छ।
शुक्रबार बालुवाटारमा बसेको एमाले संसदीय दलकाे बैठकमा नेपाल-खनाल पक्षबाट समय लिएर खनालले पार्टीको विधि र विधानअनुसार बैठक बोलाउन अध्यक्ष ओलीसँग आग्रह गरे।
‘हाम्रो भावना यो हो कि पार्टीलाई एकरुपता बनाएर लानपर्छ। सरकारलाई पनि प्रभावकारी बनाउनपर्छ’, खनालले भने ‘सर्वोच्च अदालतको फागुन २३ को फैसला अनुसार २०७५ जेठ २ गतेको अवस्थामा फर्किनु पर्छ।’
खनालले पार्टी पुन:स्थापना भएकाले सोही समयमा रहेका संरचनाहरू पहिला पुन:स्थापना हुनुपर्ने बताएका थिए। संसदीय दलको नेतालाई खनालले यो बीचमा भएका विधि र विधान बाहिरका कुरा खारेज हुनुपर्छ तर्क पेश गरेको श्रेष्ठले बताए।
‘जेठ २ गते फर्कनुस्, हामी पार्टीमा फर्केर सक्रिय हुन तयार छौं’ खनालले भने ‘संसदीय दलको विधान बनाएको कुरा मान्य छैन। नयाँ बनाउनुपर्छ। विधान बनाउने प्रक्रिया अनुसार बनाउनुपर्छ।’
यसअघि ओली पक्षले एकलौटी रुपमा विधान मस्यौदाको कार्य गरेको थियो। त्यस्तै अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेको थियो। माओवादीबाट आएका नेताहरूलाई जिम्मेवारी पनि दिएको थियो।