November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

माधव नेपाललाई निकाले एमाले विभाजित बन्ने विष्णु रिजालको चेतावनी

2.8K

काठमाडौँ – नेकपा एमालेका नेता विष्णु रिजालले माधव कुमार नेपाल बिनाको पार्टी कसैले पनि कल्पनासमेत गर्न नसकिने बताएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेता रिजालले माधव नेपाललाई निकाले विभाजित एमाले बन्ने चेतावनी दिएका छन् । उनले आफ्ना पार्टीका नेताहरुलाई निकालेर माअ‍ोवादी कैन्द्रबाट मन्त्री बनेकाहरुलाई साथमा लिएर बलियो एमाले बनाउने समपना नदेख्न चेतावनी दिएका छन् ।

‘आजको नेकपा (एमाले) निर्माणमा माधवकुमार नेपालको योगदान सधैँ अग्रणी र नेतृत्वदायी छ । ०३१ सालमा कोअर्डिनेसन केन्द्रको स्थापना गर्दै ०३५ मा नेकपा (माले) का रुपमा नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने र ०४७ मा नेकपा (एमाले) निर्माण गरेर त्यसको नेतृत्व गर्ने प्रमुख हस्तीका रुपमा उहाँ एमाले धाराको प्रमुख नेताका रुपमा स्थापित हुनुहुन्छ । त्यसैले आज कसैले माधव नेपालबिनाको नेकपा (एमाले) को कल्पना गर्दछ भने त्यो एकीकृत होइन, विभाजित एमाले मात्र हुन्छ’, उनले भनेका छन्, ‘आफ्नो पार्टीका संस्थापक, सहयात्री र अगुवा नेताहरुलाई निष्काशन गरेर र अर्को पार्टीबाट मन्त्रीमा आएकाहरूलाई साथमा लिएर बलियो एमाले बन्छ भनेर कसैले सोच्छ भने त्यसमा भन्नु केही छैन । तर, यति कुरा प्रस्ट छ, यसले एमालेलाई गहिरो गरी विभाजित गर्दछ र विभाजन गर्ने नेताहरुको नेतृत्वमा यसको क्षतिपूर्ति गर्न सम्भवै छैन ।’

Advertisement

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पार्टीलाई थाहै नदिई प्रतिनिधिसभा विघटन गरेकको भन्दै नेता रिजालले सडक आन्दोलनलाई लिएर कारबाही गर्नु पार्टी फूटको घोषणा गर्नु भएको बताए ।

‘तत्कालीन पार्टी नेकपाका बेलामा प्रधानमन्त्रीले पार्टीलाई थाहै नदिई प्रतिनिधिसभा विघटन गरेको र सडक आन्दोलन समेत चलेको बेला भएका घटनाक्रमहरुलाई लिएर नेकपा (एमाले) मा स्पष्टीकरणमार्फत कारवाहीको सिलसिला अघि बढाउनु पार्टी फुटको घोषणा हो । तसर्थ, स्पष्टीकरणको जवाफ प्राप्त भएपछि यस प्रकरणलाई एक दुःखद अध्यायका रुपमा यही समाप्त गर्नुपर्छ’, उनले भनेका छन् ।

नेपाल निकट नेता रिजालले हरहालतमा नेकपा (एमाले) को एकतालाई बचाउनुपर्ने भन्दै दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्न नेताहरुलाई सुझाव दिएका छन् ।

‘नेकपा (एमाले) को एकता बचाउन विधान विपरीतका सम्पूर्ण क्रियाकलापहरु बन्द गर्नुपर्छ । फागुन २३ को सर्वोच्चको फैसलाबमोजिम पुनर्स्थापित नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्नुपर्छ र विधानको बाधा अड्काउ फुकाऊ, जिम्मेवारी हेरफेर, कमिटीमा थपघट जस्ता जेजे निर्णय गर्नुपर्ने हो, त्यही बैठकबाट गर्नुपर्छ’, उनले भनेका छन्, ‘हरहालतमा नेकपा (एमाले) को एकतालाई बचाउनुपर्छ । यसका लागि नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित नीति, विधान र नेतृत्वलाई आधार बनाएर अघि बढ्नुपर्छ र दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्नुपर्छ ।’

अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको नेकपा (एमाले) को सरकारलाई बाँकी दुई बर्ष निरन्तरता दिनका लागि पार्टी एकताबद्ध र अरु पार्टीसँग वार्ता गरेर बहुमत सुनिश्चित गर्न पनि उनको सुझाव छ ।