April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पार्टी सभापति खुइल्याउने आत्मघाती प्रयासमा को को ?

7.2K

सीबी खड्का,

काठमाडौँ – घटना २०५७ सालको सुरुवातीतिरको हो । त्यतिबेला नेपाली कांग्रेसका नेता (वर्तमान सभापति) शेरबहादुर देउवाले आफ्नो निवास थापाथलीमा बुद्धिजीवीहरूको भेला बोलाए । पार्टी सभापति पदमा उम्मेदवारी दिने तयारीस्वरूप सुझाव लिन बोलाइएको उक्त भेलामा धेरै बुद्धिजीवीहरूले देउवाको निर्णयको स्वागत गरे । उक्त परामर्शमा अधिकांशको सुझाव थियो– ‘तपाईले आफ्नो औचित्य सावित गर्ने प्रयास गर्नोस्, यसक्रममा सभापति गिरिजाप्रसाद कोइरालाको आलोचना नगर्नोस्, सभापति कमजोर हुँदा पार्टी कमजोर हुन्छ, कमजोर पार्टीको सभापति बन्नुभन्दा बलियो पार्टीको कार्यकर्ता बन्नु श्रेयष्कर हुन्छ ।’

त्यसयता देउवा धेरैपटक सभापतिमा चुनाव लडे, तर बहालवाला सभापतिलाई खुइल्याउने प्रयत्न देउवाबाट कहिल्यै भएको देखिएन । ‘सभापतिलाई अनावश्यक रूपमा खुइल्याउँदा पार्टी कमजोर हुन्छ’ भन्ने कुरामा देउवा हरदम सचेत रहे । सायद नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा संस्थापन पक्षद्वारा व्यक्तिगत रूपमा सबैभन्दा बढी कोपभाजनमा परेका नेता कोही छन् भने देउवा नै हुन् । धेरै ठूलो संघर्ष, धेरै ठूलो मिहेनतबाट देउवा सभापति पदमा निर्वाचित भएका हुन् ।
०००
यतिबेला नेपाली कांग्रेस १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा छ । सभापति पदका लागि आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । तर अधिकांश आकांक्षीहरू आफ्ना एजेन्डा प्रस्तुत गर्नुभन्दा, आफ्नो औचित्य सावित गर्नुभन्दा सभापति देउवालाई खुइल्याउनमै बढी समय बिताइरहेको देखिएको छ । मुलुकको मुख्य समस्या नै आफ्नै पार्टीका सभापति देउवा हुन् भनेझैं गरी सभापति पदका आकांक्षीहरू प्रस्तुत भएका छन् । सभापति पदका आकांक्षीहरू लामो समयदेखि नेपाली कांग्रेसका विभिन्न जिम्मवारीमा क्रियाशील छन् । लामो समय सत्तामा बिताइसकेका छन् । पार्टी र सरकारमा धेरै भूमिका तथा जिम्मेवारी पाइसकेकका छन् । आफूले भूमिका तथा जिम्मेवारी पाउँदा उनीहरूले के के काम गरे ? पार्टीको साखलाई कसरी अघि बढाए ? भन्ने सन्दर्भमा स्वयंले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ ।

Advertisement

उदाहरणका लागि रामचन्द्र पौडेल यतिबेला वरिष्ठ नेताको भूमिकामा छन् । यसअघि उनी करिब एक दशक उपसभापति र महामन्त्री थिए । २०४८ देखि २०७४ सालसम्मको अवधिमा निरन्तर सांसद रहेका पौडेल त्यो अवधिमा मन्त्री, सभामुख, उपप्रधानमन्त्री र फेरि मन्त्री बने । यो लामो कालखण्डमा उनले नेपाली कांग्रेसको साख अभिवृद्धिका लागि के के काम गरे ? आफूले गरेका काम उल्लेख गर्नलायक नभएकै कारण उनले सभापति देउवालाई खुइल्याउनेबाहेक अरु एजेन्डा फेला पार्न नसकेका हुन् त ? भन्ने प्रश्नको जवाफ कार्यकर्ताहरूले खोज्ने नै छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका सबै सिटमा खाली कागज लगेर उम्मेदवारको नाम भरेका होइनन् ?

डा.शशांक कोइरालाले महामन्त्रीका रूपमा करिब पाँच वर्ष बिताउनै लागेका छन् । पार्टी जीवनमा महामन्त्रीको ठूलो भूमिका हुन्छ, अझ उनी त मनोनीत नभई निर्वाचित महामन्त्री हुन् । महामन्त्रीका रूपमा यो पाँच वर्षमा डा. कोइरालाले के कति भूमिका निर्वाह गरे ? वास्तवमा भन्ने हो भने उनले १४औं महाधिवेशनमा सभापति पदमा चुनाव लड्ने हो भने महामन्त्रीका रूपमा पाँच वर्षसम्म आफूले निर्वाह गरेको भूमिका कार्यकर्ताबीच लैजानु उचित हुन्छ । यदि सभापति या कहीँकतैबाट अवरोध उत्पन्न भएको हो भने उनले भन्न सक्नुपर्छ । त्यसो त महान्त्रीका रूपमा मात्रै उनले पाँच वर्ष बिताएका हुन् । २०४८ सालयता अधिकांश कालखण्ड उनको निवासबाटै नेपाली कांग्रेस चलेको हो । गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सभापति हुँदा पनि पर्दा पछाडि डा.कोइराला निकै शक्तिशाली थिए ।

प्रकाशमान सिंहले पनि दुईपटक महामन्त्री र एकपटक उपसभापतिको भूमिका निर्वाह गर्ने अवसर पाइसकेका छन् । सुशील कोइराला सभापति हुँदा उनी निर्वाचनि महामन्त्री थिए । त्यतिबेला निर्वाचित महामन्त्रीको हैसियतमा सिंहले के कस्तो भूमिका निर्वाह गरे ? भन्ने प्रश्नको जवाफ कार्यकर्तालाई दिन सक्नुपर्छ कि पर्दैन ?

डा. शेखर कोइराला जागरिमा रहेकै बेलामा पनि नेपाली कांग्रेसको निर्णायक भूमिकामा थिए । त्यतिबेला उनकी आमा नोना कोइरालाले के कसरी शक्तिको अभ्यास गरेकी थिइन् ? भन्ने प्रश्नको उत्तर अधिकांश कांग्रेस कार्यकर्तालाई थाहा छ ।
०००
पार्टीको नेतृत्वका लागि धेरै नेता अघि सर्नु भनेको नेपाली कांग्रेसका लागि सकारात्मक पाटो हो । पार्टी चलाउन धेरै नेता सक्षम भइसकेका रहेछन् भन्ने सन्देश आमजनतामा जाँदा नेपाली कांग्रेसप्रति भरोसा बढ्छ । तर वर्तमान सभापति देउवाभन्दा आफू यो यो कारणले सक्षम छु, यो यो कारणले योग्य छु भन्ने पुष्टि गर्नु त्यतिकै जरुरी छ । तर देउवाभन्दा आफू योग्य तथा सक्षम छु भन्ने पुष्टिका लागि अहिले जुन बाटो अवलम्बन गरिएको छ, त्यो बाटो नेपाली कांग्रेसका लागि आत्मघाती छ । आफ्नै लागि पनि आत्मघाती छ भन्ने कुरा यी नेताहरूले बुझ्नु जरुरी छ । देउवाको उचाइ घटाएर आफ्नो उचाइ बढेको देखाउन खोज्नु भनेको केवल भ्रम मात्रै हो ।

वर्तमान सभापति देउवाभन्दा आफू यो यो कारणले सक्षम छु, यो यो कारणले योग्य छु भन्ने पुष्टि गर्नु त्यतिकै जरुरी छ

१३औं महाधिवेशनपछिको यो करिब साढे चार वर्षको अवधिमा नेपाली कांग्रेसको साख कमजोर भएको सत्य हो । विधानद्वारा निर्धारित मितिभित्रै १४औं महाधिवेशन हुन नसकेको सत्य हो । तर नेपाली कांग्रेसको साख घट्नुमा र चार वर्षभित्रै महाधिवेशन हुन नसक्नुमा कमजोरी सभापति शेरबहादुर देउवाको मात्रै हो त ? अहिले सभापति पदका आकांक्षीहरू यो मामिलामा पानीमाथिको ओभानो छन् त ? भन्ने प्रश्नको उत्तर कार्यकर्ताहरूले खोज्लान् कि नखोज्लान् ?
०००
छोटो चर्चा गरौं, नेपाली कांग्रेसको साख घट्नुका कारणबारे । दुईवटा ठूला कम्युनिस्ट पार्टी मिलेर चुनाव लडेकै कारण नेपाली कांग्रेस पराजित भयो । नेपाली कांग्रेसका उम्मेदवारहरूले चुनाव हारे । तर नेपाली कांग्रेसले भोट भने अघिल्लो आमनिर्वाचनको भन्दा ६ प्रतिशत बढाएको छ । एउटा चुनावदेखि अर्को चुनावको अवधिमा नेपाली कांग्रेसको भोट यति धेरै बढेको सायद यसैपटक हो । सुशील कोइराला पार्टी सभापति भएको बेला २०७० सालमा सम्पन्न आमनिर्वाचनमा नेपाली कांग्रेसले २९ प्रतिशत मत ल्याएको थियो । देउवा पार्टी सभापति भएको बेला २०७४ सालमा भएको आमनिर्वाचनमा ३५ प्रतिशत भोट ल्यायो । ६ प्रतिशत भोट बढ्यो । तर प्रदेश सभाका दुईवटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारले जित्दा पनि डा.शेखर कोइरालाले हारे । यो कमजोरी देउवाको हो कि ? उम्मेदवार शेखरको ? ठूला कुरा गरेर हुन्छ ?

वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका सबै सिटमा खाली कागज लगेर उम्मेदवारको नाम भरेका होइनन् ? लगातार ३० वर्षसम्म राष्ट्रिय राजनीतिको निर्णयक भूमिकामा रहेका पौडेलले तनहुँ जस्तो कांग्रेसको अत्यन्त पोटेन्सियल जिल्लामा आफू मात्रै हारेनन्, प्रतिनिधिसभा र प्रदेश सभाका एक सिटमा पनि पार्टीलाई जिताउन सकेनन् । अब यसको हिसावकिताव देउवाले दिनुपर्ने ? आफू परीक्षामा फेल हुने, तर त्यसको दोष अभिभावकलाई दिने जस्तो भएन र ?

महाधिवेशन प्रकरण
हुन त विधानद्वारा निर्वाचित चार वर्षको अवधिमा नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न भएको रेकर्ड २०४८ सालयता छैन । हरेकपटक एक वर्ष म्याद थपिएको छ । १३औं महाधिवेशन त करिब ६ वर्षको अवधिमा भएको थियो । त्यसैले देउवाले चार वर्षभित्र महाधिवेशन गराउन सकेनन् भन्नुको कुनै तुक छैन । फरक यति नै हो कि विगतमा संस्थापन पक्षकै कारण चार वर्षको अवधिमा महाधिवेशन हुन नसकेको स्थिति थियो भने यसपटक सभापति देउवालाई खुइल्याउने नाममा इतर पक्षले अपनाएका तिकडमका कारण चार वर्षको अवधिमा महाधिवेशन हुन नसकेको हो ।

२०७२ फागुन २३ गते १३औं महाधिवेशन सम्पन्न भई देउवाले सभापति पद सम्हाल्दै गर्दा मुलुकमा कम्युनिस्टहरूको मिलिजुली सरकार थियो । संविधान जारी गर्ने नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसलाई एक्ल्याइएको अवस्था थियो । पदभार ग्रहरण गरेको दुई महिना बित्दा नबित्दै देउवाले नेपाली कांग्रेसलाई सत्तामा पु¥याए, तर इतर पक्षले धेरै नै निकृष्ट शैलीमा उत्रिएर सत्ताको भागबन्डा खोज्यो । देउवाले ४० प्रतिशत भागबन्डा दिए, तर इतर पक्षले लामो समयसम्म आफ्नो भागका मन्त्रीको नामसमेत पठाउने सकेन । आफ्नै पार्टीको सरकारलाई असफल बनाउने अभियानमा इतर पक्ष देखियो । यो छोटो अवधिमा देउवाले तीनवटै ठूला निर्वाचन सम्पन्न गराई संविधानलाई कार्यान्वयनमा ल्याए ।

सभापति देउवालाई खुइल्याउने नाममा इतर पक्षले अपनाएका तिकडमका कारण चार वर्षको अवधिमा महाधिवेशन हुन नसकेको हो ।

निर्वाचन सकिएपछि पार्टीको कामलाई गति दिनुपर्ने थियो, तर चुनाव हार्ने नेताहरू सभापति देउवाविरुद्ध एक भए । पार्टीलाई गति दिने एजेन्डा नै ओझेलमा प¥यो । केन्द्रीय समितिको बैठक बस्नसमेत नसक्ने गरी वातावरण बिथोलियो । सडकबाटै सभापति देउवाको राजीनामा माग्न थालियो । विधान संशोधन नगरी पार्टी संगठन अघि बढ्न सक्ने अवस्था थिएन । किनकि मुलुक संघीयतामा गइसके पनि नेपाली कांग्रेसको विधानले संघीयता चिनेको थिएन । तर विधान संशोधन समिति गठनमै इतर पक्षले भाँजो हाल्यो ।

उदाहरणका लागि २०७५ वैशाखमा सभापति देउवाले विधान संशोधन समिति गठनका लागि इतर पक्षसँग नाम मागे, तर इतर पक्षले साउनमा मात्रै नाम पठायो । जसका कारण महासमितिको बैठक २०७५ पुसमा मात्रै सम्भव भयो । यदि इतर पक्षले विधान संशोधन समितिमा बेलैमा नाम पठाएको भए, विधान संशोधनका लागि अनावश्यक बखेडा ननिकालेको भए २०७५ असारमै महासमितिको बैठक सम्पन्न हुन्थ्यो । २०७५ फागुनदेखि १४औं महाधिवेशनको प्रक्रिया सुरु गर्न सकिन्थ्यो ।

तर महासमितिको बैठक नै २०७५ पुसमा भयो । विधान संशोधनपछि नियमावली बनाउने बेलामा पनि यसरी नै बखेडा उत्पन्न भयो । यस्तै बखेडाका कारण थप एक वर्ष गुज्रियो । थपिएको एक वर्षभित्र मज्जाले महाधिवेशन हुन सक्थ्यो । अझै पनि सक्छ, तर कोभिडको कारण देखाउँदै इतर पक्षकै जिल्ला सभापतिहरूले महाधिवेशनको पूर्वतयारीका लागि अवरोध उत्पन्न गराएका छन् । अमेरिका, भारत, बंगलादेशमा आमनिर्वाचन हुन कोभिडले नछेक्ने, तर नेपाली कांग्रेसको महाधिवेशन हुन छेक्ने स्थिति कसरी ? यो जवाफ इतर पक्षले दिनुपर्दैन ? देउवालाई खुइल्याउने नाममा पार्टीलाई नै खुइल्याउन खोजिएको छ, तर पार्टी खुइलिँदा आफू बाँकी रहन्छु कि रहन्न ? भन्ने हेक्का भने इतर पक्षका नेताहरूले राखेको देखिन्न ।Found in Sankalpa khabar