चितवन- नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले सरकारमा जानु परे आफ्नै नेतृत्वमा मात्रै जाने बताएका छन्। उनले प्रतिनिधि सभा बैठक सञ्चालन भएपछि कांग्रेसले आफ्नो धारणा बनाउने समेत उल्लेख गरे।
‘हाम्रो उपस्थितिबिना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौँ’, बिहीबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने। सरकार बनाउन कांग्रेसको आवश्यकता परेमा मात्र सरकारमा जाने उनको भनाइ छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधिवत् रुपमा एकै भएकाले अहिले नै कांग्रेसले धारणा बनाउने बेला नभएको डा महतको भनाइ छ।
नेता महतले नेत्रविक्रम चन्द पक्ष हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको पनि बताए। उनले सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे।
‘मुलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो। सहमतिमा के कुरा छन् भन्ने चाहिँ हामीलाई थाहा छैन’, उनले भने। रासस