April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार २०८० बाट देविप्रसाद पौडेल पुरस्कृत

2.1K

इलाम । चुलाचुलीका पत्रकार देविप्रसाद पौडेल (देवेन्द्र) कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत भएका छन् ।

प्रेस सेन्टर नेपाल इलामले स्थापना गरेको नगद पाँच हजार राशीको पहिलो पटकको पुरस्कार शनिबार पौडेलले पाएका हुन् । इलाम नगरपालिकाकी उपप्रमुख बिष्णुकुमारी लिम्बू दाहाल र नगर प्रवक्ता नुतनदेव दुलालले सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।

पौडेल विगत ६ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । दमक अनलाइनबाट पत्रकारिता सुरु गरेका पौड्ल हाल इलाम टाइम्स अनलाइनमा कार्यरत छन् । प्रेस सेन्टरले इलामको हरेक वर्ष ग्रामीण क्षेत्रमा रहेर पत्रकारितामा क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्ने गरी शहिद कृष्णसेन इच्छुकको नाममा पुरस्कार स्थापना गरेको हो ।

Advertisement

विसं २०५९ जेठ १३ गते प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो। विसं २०१३ कात्तिकमा भारतको देहरादूनमा जन्मिएका इच्छुक जनादेश साप्ताहिकको सम्पादक रहेका थिए।

प्रेस सेन्टर इलामकी अध्यक्ष बुद्धमाया सोङ्मीको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगर उपप्रमुख दाहाल, प्रवक्ता दुलाल, प्रेस सेन्टरका प्रदेश अध्यक्ष विनोद घिमिरे, केन्द्रीय सल्लाहकार गणेश लम्साल, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, प्रेस चौतारी इलामका अध्यक्ष भीम चापागाई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) की सहसचिव सिर्जना श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।