सुनसरी: वैदेशिक रोजगार विभागले इटहरीमा सञ्चालित एक दर्जन मेनपावर कम्पनीमा शुक्रबार छापा मारेको छ । यसक्रममा दुई वटा मेनपावर कम्पनी बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । अवैध रुपमा शाखा सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा विभागले मेनपावर कम्पनीहरूमा छापा मारेको हो ।
विभागका अनुसार इटहरीको एचआर मेनपावर कम्पनी र मेमोरियल मेनपावर कम्पनीमा शिलबन्दी तथा शाखा बन्द गरिएको छ । विभागका अनुसार इटहरीको एचआर मेनपावर कम्पनी र मेमोरियल मेनपावर कम्पनीमा शिलबन्दी तथा शाखा बन्द गरिएको छ ।
विभागका अनुसार शुक्रबार १२ वटा मेनपावर कम्पनीका शाखाहरूमा छापा मारी कागजात जफत गरिएको छ । विभागले छापा मारेपछि केही मेनपावर कम्पनीका शाखाहरू सटर लगाएर भागाभाग भएका छन्। तथापि, विभागले ती मेनपावर कम्पनीहरूमाथि निगरानी गरिरहेको छ।
अवैध रुपमा काठमाडौंमा सञ्चालन भइरहेका मेनपावरमा निगरानी बढाएपछि ती मेनपावर कम्पनीले देशका विभिन्न ठाउँमा गएर लुकिछिपी गतिविधि गरिरहेको पाइएको विभागले जनाएको छ । सुनसरीमा सञ्चालित मेनपावरहरूमा छापा मार्न जाँदा विभागले त्यहाँको स्थानीय प्रहरी र प्रशासनसँग समन्वय गरेको थियो ।