पछिल्लो समय सामाजिक सञ्जालले मानव जातिलाई अल्छे बनाएको छ । कवि लेखकहरू पनि त्यो सेहेँबाट अछुतो छैनन् । बजारमा किताबहरू एकपछि अर्को आउने क्रम छ । तर पाठक सङ्ख्या घट्दो छ । पछिल्लो आङ्कडालाई हेर्ने हो भने प्रायजसो आफ्नो निकटहरू मार्फत केही पुस्तकहरूले बजार तताइ टोपलेको पाइन्छ । यद्यपि केही पुस्तकहरूले पाठकलाई तान्छ नै । पछिल्लो समयमा म पनि अल्छे ग्रुपमा पर्छु । यद्यपि प्रिय गीतकार एवम लेखक राज बान्तावा जीको उपन्यास ‘माइला दमाई’ हातमा आइपुग्यो । पहिलो प्रथम त उपन्यासको नामले नै तान्यो । अर्को कुरा हतुवागढीमा साहित्यको निम्ति धेरै पल्ट ओहोरदोहोर गर्ने गरेको छु । एक किसिमले मेरो साहित्यिक गन्तव्य पनि हो, त्यो माटो र त्यहाँका परिवेश । र छ बाक्लो सँगत त्यहाँका साहित्यिक कलमकर्मीहरूसँग । त्यो मानेमा पनि यो उपन्यास मलाई खास लागेको हुनुपर्छ ।
जब उपन्यासभित्र प्रवेश गरेँ तब त्यहाँभित्रका विषयवस्तुले पनि साँच्चै नै तान्यो । समाजकै बालीघरे र इष्टहरूले दिएको भागले जीवन जिउनुपर्ने नियति छ माइला दमाइको । त्यहाँभित्रका घटना परिघटनाहरू दर्दनाक छन् । पीडाहरू उस्तै कष्टकर छन्, दलित भएर उच्च जातिहरूसँग घुलमिल हुन कति गारो हुन्छ ? भन्ने दृष्टान्तहरू भेटिन्छन् छन् माइला दमाईभित्र । माइलाको परिवार हुर्के बढेसँगै उनको परिवारमा केही समस्याहरू आइपर्छन सहजीकरणका निम्ति गाई पाल्दा दूध सबै जातिले खादैनन् । माइलाको परिवारमा “सुङ्गुर पालेर मासु बेच्दा सबैले खान्छन् ।” भन्ने एउटा संवाद भेटिन्छ । जुन संवादले जातीय विभेद र दलितहरूले भोगिरहेको पीडाहरू छर्लङ्ग देखिन्छ । माइला दमाईको जीवन उसै पनि कष्टकर छँदैछ अझ उनकी जेठी छोरी र राम्चेबिचको अनैतिक सम्बन्ध तत्पश्चात राम्चे नामर्द भएर बेपत्ता भएपछिको माइला दमाइले पाएको हण्डर बहुत कारुणिक छ । समाज फेरिदो क्रमसँगै अनि पछिल्लो समय आधुनिकतासँगै भित्रिएको रेडिमेट कपडाले माइला दमाइको कलहरूको उती धेरै काम नभएको वर्तमानले आफ्नो पुर्खौली व्यवसायहरू खतरामा परेको अवस्था झल्काउँछ । यही अवस्थाहरू सिर्जना भइरहने हो भने पुर्खाहरूसँग जोडिएका मौलिक पेशाव्यवसायहरू लोप हुने तर्फपनि सङ्केत गरेको छ यो उपन्यासले ।
उसो त उपन्यासमा प्रगतिशील र समाज परिवर्तनको आवाज पनि बुलन्द गरिएको छ । सन्ते र कान्छीको प्रेमले पाएको सार्थकताले सदियौँदेखिको जातीय विभेदलाई चुनौती दिँदै सन्तेले कान्छीलाई भित्राउनुले सन्ते समाज परिवर्तनको संवाहकको रुपमा उभिएको देखिन्छ । सन्तेले समाज परिवर्तनको निम्ति उठाएको कदममा समाजका बुज्रुक जयमान विष्ट, खर्याङ, रातमाटे र दिदीबहिनीहरूले साथ दिएका छन् । यद्यपि समाजका अधिककांसले उनीहरूको अन्तरजातीय विवाहलाई स्वीकार नगरेपछि सन्ते र कान्छीले गाउँ छाड्न बाध्य हुन्छन् । सन्तेले समाजलाई कायापलट गर्छु भनेर हुङ्कार फुके पनि त्यो पर्याप्त हुन्न । लेखकले यहाँ सन्तेलाई विरोधाभास बनाएको जस्तो देखिन्छ । सन्तेलाई एकातिर परिवर्तनकारी देखाउन खोजिएको छ भने अर्कातिर उनलाई विलासिएको देखाइएको छ । सन्तेले कि त्यही माटोमा अरु संघर्ष गरेको हुनु पथ्र्यो कि चै पछि उन्नति र प्रगतिसँगै गाउँ फर्केको प्रशङ्ग राखिएको भए सन्तेको प्रगतिशील विचारले सार्थकता पाउँथ्यो कि भन्ने आम पाठकलाई लाग्न सक्छ ।
अर्को तर्फ जातीय मुक्तिका निम्ति गाउँमा हरेक अभियान र धर्महरू प्रवेश गरिरहेको वर्तमान परिवेशलाई पनि लेखकले उजागर गरेका छन् । समाजलाई मुक्ति गराउने नाममा प्रभु माइला क्रिश्चियन धर्मको प्रचारकको रुपमा गाउँ प्रवेश गरेपछि माइला दमाईलाई अनेक आश्वासन दिएर क्रिश्चियन धर्मावलम्बी बनाउन खोजेका छन् । रुढीवादी परम्परा र जातीय विभेद सदाका लागि अन्त्य हुने, र मरेपछि स्वर्गमा पुगिने आश्वासन दिदा माइला दमाईले धेरै विचार गरेर पुस्तौंदेखि मानिलिएको रितिरिवाज र संस्कारलाई बिटुलो पार्न नहुने निष्कर्षमा पुग्छन् । प्रभु माइलाले सिँगो गाउँलाई नै इसाइ धर्मावलम्बी बनाउने सपनासमेत देखेका छन् । तर माइला दमाई बरु पुस्तौंदेखि चलिआएको बाधा गर्ने संस्कार र रितिरिवाजलाई परिमार्जन गर्नुपर्नेमा जोड दिन चाहन्छ । माइला मौलिकतालाई भुलेर स्वर्ग जान चाहदैनन् अनि आफ्नो संस्कृतिलाई बिटुलो पार्ने आयातित धर्म वा संस्कृतिलाई अवलम्बन गर्नु भनेको आफ्नो पिता पुर्खाहरूमाथि अपमान गर्नु हो उनीहरूमाथिको उपेक्षा हो भन्ने पक्षमा छन् ।
स्वार्थ र आफ्नो मनोकाङ्छा पूरा गर्न पुर्खाहरूमाथि अपमान गर्न नहुने बुझाई छ माइलाको । माइलाकि छोरीले सुख सुविधाको नाममा धर्म परिवर्तन गर्दा अछुत नभइएला तर हामी समाजबाट झन परपर हुने, समाजले दिएको यो मायामा पनि गिरावट आउँछ, समाजले अरु घृणा गर्छ । अझ दलितहरूले न्याय र समान्ताको लागि लड्न हामी यही मौलिक धर्ममा रह्यौँ भने मात्र सम्भव हुन्छ नत्र त कानुनसम्मत लड्ने नैतिकता समेत गुम्न सक्छ । बरु दिनानुदिन हामी समाजबाट छि छि र दुर दुर सहनुपर्ने कुरा दर्शाएपछि माइला अरु चनाखो हुन्छ र माइला आफ्नो छोरीको पढाईप्रति गौरवान्वित हुन्छ । माइलाले अब माइला दमाई हैन दमाई माइला लेख्ने अठोट गर्छ । अर्को कुरा माइलाले आफ्नो थरमा आफूले गन्दुलाल नेपाली लेखाए पनि आउने बाँकी रहेका सन्तानलाई चैँ नेपाल बनाउनु पर्यो भन्ने मनसाय व्यक्त गरिनुले माइलाको महानता झल्किन्छ । अनेक जातजाति अनि जातजातिबीच हुने भेदभाव हुनुभन्दा सबै नेपाल जाती भए हामी सबैको जात नै नेपाल हुन्छ भन्ने माइलाको भनाइले सिँगो राष्ट्रलाई गोलबद्ध गराउछ भन्ने शुभेच्छा छ । उपन्यासमा माइलाले केही विभेद या अपमान सहेपनि उनी माझकिराँतका किरात राईहरूको मायाममता र प्रेममा हुर्केका छन् । सायद उनीहरूकै माया सद्भाव पाउँदै जाँदा उनले २÷४ रोपनी जग्गा जोडेको छ । आसपासका दलितहरूभन्दा माइला मिहिनेती, चङ्खो र सिपालु छन् । अन्य दलितहरू जस्तो खान र लाउनकै निम्ति धौ धौ छैन उनलाई । यद्यपि आफ्नो पुर्खौली पेशाको धर्म उ छाड्न चाहदैन । कामै नभए पनि फाटेको लुगाहरू भए पनि टालटुल गर्ने गर्छन् । यसले के कुरा प्रष्टाउछ भने ऊ आफ्नो पितापुर्खा र उनीहरूको पेशाको निम्ति समर्पित छन् ।
उपन्यासमा ग्रामिण परिवेश र माझ किराँतलाई सर्लक्कै टिपिएको छ । राई बान्तावा भाषाको धेरै प्रयोग हुनु, गाउँ घरको ठेट र झर्रो शब्दहरूको प्रयोगले उपन्यासलाई पठनीय बनाएको छ । अनि माझ किराततिरका पाठकले त झनै अपनत्व महसुस गर्नेछन् यो कृति । नुधे र लाहुरेनीको प्रेमले यो उपन्यासलाई प्रेमिल बनाएको छ । साथै विधुवाहरूले स्वतन्त्र रुपले नयाँ जीवन जिउन पाउनुपर्छ भन्नेमा पनि उपन्यासले जोड दिएको छ । लाहुरेको बुबाआमाले लाहुरेनी बुहारीलाई नुधेसँगको सम्बन्धलाई स्वीकार गर्नुलाई त्यसको संकेत गर्दछ । अर्कोतिर आदिवासी जनजाति समुदाय अन्धविश्वास र परम्पराभन्दा केही माथि छ भन्ने दृष्टान्त पनि हो यो उपन्यास । उपन्यासमा यौन पक्षलाई आवश्यक भन्दा बढी नै प्राथमिकता दिएको हो कि भन्ने अनुभुति हुन्छ उपन्यास पढ्दै गर्दा ।
अन्ततः उपन्यासकार राज बान्तावाको पहिलो उपन्यास भएर पनि माइला दमाई पहिलो कृति हो भन्ने महसुस हुन्न । बेलाबखत लेखिरहने लेखकको आभाष हुन्छ उपन्यास पढिरहँदा । किताबभित्र अन्य कुराहरू पनि गौण होला यद्यपि यहाँ आफूले देखे,भेटेका कुराहरू राखियो । बाँकी रहेका कुराहरू लेख्ने अन्य समिक्षक तथा समालोचकहरूको । अहिलेलाई आख्यानकार राज बान्तावा र उनको कृति माइला दमाईलाई सफलताको शुभकामना ।




