February 20, 2026, Friday
२०८२ फाल्गुन ८
1:37:26 pm

शेरधन राईः निष्ठा, निरन्तरता र संघर्षका पर्याय

– शशी लुमुम्बू
२०८२ फाल्गुन ८

570

समकालीन नेपाली राजनीतिमा केही यस्ता पात्र छन्, जसको जीवन केवल पद, प्रतिष्ठा र सत्ता यात्राको तिलस्मी कथा होइन उनीहरूको संघर्ष स्वयं एउटा राजनीतिक दर्शन बन्छ । कमरेड शेरधन राई त्यस्तै एक गर्विलो नाम हो । उनी विद्यार्थी आन्दोलनको जगबाट उठेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, प्रदेश नं. १ (हाल कोशी प्रदेश) को प्रथम मुख्यमन्त्रीसम्मको यात्रा तय गरेका र आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवको जिम्मेवारीमा रहेका एक प्रतिबद्ध, जुझारु र प्रभावशाली नेता हुन् ।
शेरधन राई निष्ठा र निरन्तरताको राजनीतिमा विश्वास गर्छन् । पदभन्दा विचार, सत्ताभन्दा संगठन र व्यक्तिभन्दा पार्टीलाई प्राथमिकतामा राख्ने उनको राजनीतिक जीवन समस्त राजनीतिज्ञका लागि आफैँमा दुर्लभ उदाहरण हो । अवसर पाउँदा गडगडाउने र अप्ठेरो पर्दा हडबढाउने अनि स्याप्पै सुकिजाने कुनै खहरे खोला होइन— अविरल बगिरहने स्वच्छ, शान्त र शालीन अरुण नदीझैँ छ शेरधन राईको राजनीतिक–जीवन । नेपाली राजनीतिका मै हुँ भन्ने खेलाडीहरूले पनि शेरधन राईबाट धेरै कुरा सिक्न बाँकी रहेको देखिन्छ ।

माटो, परिवार र संस्कार
वि.सं. २०२७ फागुन ११ गते पूर्वी पहाडी जिल्ला भोजपुरको दक्षिणी भेगमा पर्ने थिदिङ्खाको पसलभन्ज्याङ गाउँमा शेरधन राईको जन्म भएको हो । आमा राम्रीमाया र बुबा जागिरमानका जेठो सन्तानका रूपमा जन्मिएका उनी किसान परिवारका सदस्य हुन् । तत्कालीन थिदिङ्खा गाउँ विकास समिति वडा नं. ५ मा पर्ने यो गाउँ अहिले आमचोक गाउँपालिका वडा नं. ३ मा पर्दछ ।
किसानी जीवनको कठोर संघर्ष, श्रमको सम्मान र अभावसँग जुध्ने संस्कारले उनको व्यक्तित्व निर्माण ग¥यो । आज पनि उनका आमाबुबा आफ्नै गाउँमा खेतीपातीमै संलग्न छन् । यो तथ्यले शेरधन राईको राजनीतिक चेतनाको आधार माटोसँग कति गहिरो छ भन्ने देखाउँछ । उनका दुई बहिनी छन् । आफ्नो व्यक्तिगत जीवनलाई भन्दा सामाजिक जिम्मेवारीलाई महत्त्व दिने शेरधन राईको विवाह वि.सं. २०७७ साल माघ ११ गते जाङ्मु इन शेर्पासँग सम्पन्न भयो । हाल उनी एक पुत्रका पिता बनेका छन् ।

शिक्षा, पीडा र जीवनको कठोर पाठ
शेरधन राईको प्रारम्भिक शिक्षा घर नजिकैको शिक्षाज्योति निम्न माध्यमिक विद्यालयबाट आरम्भ भयो । त्यहाँ उनले कक्षा ७ सम्म अध्ययन गरे । कक्षा ८ देखि १० सम्म घरदेखि तीन घण्टा टाढा रहेको सगरमाथा माध्यमिक विद्यालय, घोरेटारमा डेरा बस्दै पढ्नुप¥यो । यही विद्यालयबाट उनले वि.सं. २०४३ सालमा प्रवेशिका उत्तीर्ण गरे ।

Advertisement

विद्यालय जीवनमै उनले जीवनको सबैभन्दा पीडादायी क्षण भोग्नुप¥यो । कक्षा ९ मा अध्ययनरत रहँदा रगतमासी रोगले उनी थलिन पुगे । एक सातापछि उनका ६ वर्षीय भाइ विष्णुलाई पनि त्यही रोगले समात्यो । अन्ततः उक्त रोगले भाइलाई लगेरै छाड्यो । तर विडम्बना त्यतिमै सीमित रहेन । विद्यालयमा ‘शेरधन राई बिते’ भन्ने हल्ला फैलियो । पढाइ र खेलकुदमा लगनशील विद्यार्थी बितेको भन्ने खबरले विद्यालय शोकमा डुब्यो । विद्यालयको शोकसभा गरियो । सो सभामा एकजना शिक्षकले “मेरो प्यारो शेरधन” शीर्षकको कविता वाचन गर्दै श्रद्धाञ्जलि नै दिए । कार्यक्रमको अन्त्यतिर मात्रै सत्य खुल्यो— शेरधन होइन, उनका भाइचाहिँ बितेका हुन् । आज पनि उनका समकालीन र अग्रज शिक्षकहरू यो घटनालाई भावुकताका साथ सम्झन्छन् ।

खेलकुदबाट अनुशासन र आत्मविश्वास
पढाइसँगै शेरधन राईको अर्को परिचय थियो— खेलकुद । दश वर्षकै उमेरदेखि भलिबल खेल्न थालेका उनले जिल्लामा च्याम्पियनको उपाधि नै जितेका थिए । बेलायती सेनामा रहेका मामा ढोकलसिंह राईले उपहार दिएको भलिबलले भलिबल खेलप्रति उनको रुचि बढाएको उनी स्वयं स्मरण गर्छन् । २०४६ सालमा जिल्लास्तरीय भलिबल प्रतियोगितामा च्याम्पियन बनेका उनी २०५१ सालसम्म जिल्लाको प्रतिनिधित्व गर्दै दर्जनौँ प्रतियोगितामा सहभागी भएका थिए । तेक्वान्दोमा पनि उनको राम्रो दख्खल रहेको छ ।
खेलजीवनकै कारण आकर्षक जीउडाल र व्यक्तित्व भएका शेरधनलाई गोर्खाभर्तीका भर्ती–प्रतिनिधिरूले पछ्याए । बुबा र मामाको मत पनि उनी भर्ती हुनुपर्ने पक्षमा नै थियो । तर विद्यार्थी आन्दोलन गोर्खाभर्ती विरोधमा रहेका कारण उनले त्यो बाटो रोजेनन् बरु राजनीतिमार्फत जनता, समाज र देशको सेवा गर्ने लक्ष्यमा होमिए ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतितिर
शेरधन राईको राजनीतिप्रतिको रुचि विद्यालय जीवनदेखि नै सुरु भएको हो । अनेरास्ववियुको विद्यार्थी राजनीतिसँगको सामीप्यले उनलाई वाम राजनीतितर्फ आकर्षित ग¥योे । २०४४–०४५ सालमा भोजपुर बहुमुखी क्याम्पसमा अध्ययन गर्दा ताका उनी विद्यार्थी राजनीतिमा सक्रिय भए । क्याम्पसको प्रारम्भिक कमिटीमा रहेकै बेला बोखिमको दाम्सिङमा भूमिगत रूपमा भएको अखिलको सम्मेलनबाट जिल्ला कमिटी सदस्यमा चयन भएपछि उनको राजनीतिक जिम्मेवारी बढ्दै गयो ।
२०४५ सालदेखि पार्टी राजनीतिमा होमिएका उनले ‘निछाक’ (बान्तवा राई भाषामा भाइ) नामबाट भूमिगत राजनीतिमा सक्रियता बढाए । त्यो बेला उनी १९ वर्षका मात्र थिए । सोही वर्ष उनले छिमेकी गाउँ चुमाराङको जनकल्याण प्राथमिक विद्यालयमा केही समय शिक्षणसमेत गरे ।

अखिलको जिल्ला अध्यक्ष रहेका बेला २०५० सालमा हेटौडामा भएको अखिलको राष्ट्रिय सम्मेलनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भई पूर्वाञ्चल प्रमुख बने । २०४८ र २०४९ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको जिल्ला सहसचिव हुँदै कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाले । २०५२ सालमा भएको अखिलको १३औँ सम्मेलनबाट पुनः केन्द्रीय सदस्य र पूर्वाञ्चलकै प्रमुख बने । विद्यार्थी राजनीतिमै रहँदा २०४९ सालमा उनी नेकपा एमालेको जिल्ला कमिटीमा प्रवेश गरिसकेका थिए ।

मदन भण्डारी र राजनीतिक दर्शन
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीका विचार, विशेषतः जनताको बहुदलीय जनवाद, शेरधन राईका लागि जीवन–दर्शन बन्यो । “राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन” भन्ने भण्डारीको उद्धरणलाई उनले आफ्ना लागि मार्गदर्शक सिद्धान्तका रूपमा लिएका छन् । पार्टीभित्र गुटफुटको राजनीति परास्त गर्दै निरन्तरता र निष्ठालाई महत्त्व दिँदै उनी सधैँ पार्टीको मूलधारमा सक्रिय रहे ।

संघर्ष, आन्दोलन र घाइते योद्धा
सशस्त्र द्वन्द्वका वर्षहरूमा जिल्लामै रहेर पार्टीको बागडोर सम्हालेका राईले शाही कदमपछिको राजनीतिक आन्दोलनमा दलहरूको नेतृत्व पाए । २०६२–६३ को जनआन्दोलनका क्रममा जिल्ला सदरमुकाममा प्रहरीले बन्दुकको कुन्दाले हान्दा उनी बेहोस भए । त्यसपछि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याएर उपचार गर्नुपरेको थियो । यो घटना उनको संघर्षशील राजनीतिक जीवनको गहिरो छाप हो ।

संसदीय राजनीति र नेतृत्व
२०५६ सालमा भोजपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा उनी २७ वर्षका मात्र थिए । त्यतिबेलाका कान्छा सांसद । उनी २०६२–६३ को आन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभा व्यवस्थापिका संसद्को सदस्य बने । २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं. २ बाट विजयी भई संविधान मस्यौदा समिति सदस्य तथा सुशासन तथा अनुगमन समितिको सभापतिको जिम्मेवारीमा रहे ।
उनले भोजपुर बहुमुखी क्याम्पसबाट स्नातक र पाटन संयुक्त क्याम्पस, ललितपुरबाट समाजशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

पार्टी बचाउने ऐतिहासिक भूमिका
२०५४ सालमा एमाले विभाजन हुँदा उनी एमाले भोजपुरका सहसचिव थिए । अधिकांश नेता–कार्यकर्ता मालेतिर जाँदा पनि उनी एमालेमै अडिग रहे । उनले २०७० वैशाखसम्म लगातार चार कार्यकाल जिल्ला पार्टीको नेतृत्व गरे ।
२०६९ सालमा एकल पहिचानको विषयलाई लिएर अशोक राईसहितको समूह एमालेबाट बाहिरिन खोज्दा उनले २४ जिल्लाका जनजातीय समुदायबाट आएका जिल्ला कमिटीका अध्यक्षहरूको नेतृत्व गर्दै संवादको पहल गरे । आफ्नो राजनीतिक जीवन नै दाउमा राखेर बहुपहिचानको मुद्दाको पक्षमा उभिएका शेरधन राईको भूमिका पार्टी इतिहासमा स्मरणीय छ ।

प्रदेशको पहिलो मुख्यमन्त्री र केन्द्रीय नेतृत्व
२०७४ माघ २६ गते एमाले प्रदेश नं. १ संसदीय दलको नेता निर्वाचित भई उनी २०७४ फागुन २ गते प्रदेश नं. १ का प्रथम मुख्यमन्त्री बने । सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ताका रूपमा पनि उनले यसअघि काम गरिसकेका थिए ।
पार्टीको १०औँ महाधिवेशन (२०७८ मंसिर १०–१२) बाट केन्द्रीय सदस्य हुँदै स्थायी समिति सदस्य बनेका उनी ११औँ महाधिवेशन (२०८२ मंसिर २७–पुस ४) बाट लोकप्रिय मतका साथ केन्द्रीय सचिव पदमा निर्वाचित भए ।

दृष्टिः विकास, परिवर्तन र जनजीविका
शेरधन राईका लागि राजनीति देश विकास र जनजीविकाको माध्यम हो । भोजपुरको माटोमा हुर्किएको अनुभवले उनलाई दुरदराजका सम्भावना र चुनौतीसँग परिचित बनाएको छ । अप्ठ्याराहरूसित जुध्न र त्यसको सामना गर्न हिम्मत दिएको छ । उनी सतही लोकप्रियतालाई अस्वीकार गर्छन् । सत्य र निष्ठाको राजनीतिमा विश्वास गर्छन् । अप्ठ्यारोमा भाग्ने होइन, समस्यासँग जुध्ने; लोभलालच होइन, आदर्श र संघर्षको राजनीति गर्ने उनको सिद्धान्त छ ।
स्वच्छ छवि र शालीन व्यक्तित्व उनको व्यक्तित्वको सुन्दर पाटो हो । उनले सांसददेखि सञ्चारमन्त्री र मुख्यमन्त्रीको जिम्मेवारी बहन गर्दाका बखत भोजपुरमा सडक, बिजुली, खानेपानी, कृषि, सिँचाइ, स्वास्थ्य, शिक्षा, सञ्चार, पर्यटन तथा रोजगारका क्षेत्रमा उल्लेखनीय काम गरेर कष्टकर रूपमा रहेको भोजपुरको जनजीवनलाई सहज बनाउने काम गरेका छन् । यस कारण पनि उनी भोजपुर र भोजपुरवासीका लागि आशा, भरोसा र भविष्य जोडिएका जननेता हुन् ।

निष्कर्ष
शेरधन राईको राजनीतिक जीवन पदीय आरोह–अवरोहभन्दा धेरै माथि छ । यो संघर्ष, निष्ठा र निरन्तरताको परिणाम होे । आफूलाई ‘कम्युनिष्ट पार्टीको सिपाही’ र ‘जनताको सेवक’ भन्न रुचाउने उनी संकटका बेला सधैँ सत्यको पक्षमा सतिसालझैँ उभिँदै आएका छन् । सुख–दुःखमा सधैँ भोजपुरे जनताका साथमा रहँदै आएका छन् । यही कारण शेरधन राई नेपाली राजनीतिको भरोसायोग्य र सुदृढ नेतृत्वका रूपमा स्थापित छन् । जिल्लादेखि देशको केन्द्रसम्म पहुँच, पहिचान र प्रभाव स्थापित गर्न सक्षम शेरधन राई एक मात्र त्यस्ता प्रभावशाली र स्वप्नदर्शी नेता हुन्— जसको नेतृत्वमा मात्रै भोजपुरको आत्मा–स्वाभिमान उँचो हुन्छ र भोजपुरले समग्र समृद्धितर्फको यात्रा तय गर्न सक्छ ।