February 20, 2026, Friday
२०८२ फाल्गुन ८
1:37:26 pm

स्कूल र युनिभर्सिटी: प्रश्न गर्ने नागरिक कि आज्ञाकारी कर्मचारी उत्पादन गर्ने कारखाना?

खुशी लिम्बू
२०८२ फाल्गुन ८

415

आधुनिक शिक्षा प्रणाली, जहाँ डिग्रीले सोच्ने क्षमता खोस्छ र प्रमाणपत्रले वफादारिताको प्रमाण दिन्छ— पाउलो फ्रेयरको ‘पेडागोजी अफ दि अप्रेस्ड’ को एउटा तीतो विमर्श यहाँ प्र्रस्तुत छ। विमर्शको मूख्य सवाल हो —हामीले विद्यालय र विश्वविद्यालयबाट प्रमाणपत्र त लिएर निस्कियौं, तर के हामीले सोच्ने र प्रश्न गर्ने क्षमता पनि साथै ल्यायौँ? कि हामी केवल एउटा यस्तो प्रणालीका उत्पादन हौं, जसले हामीलाई ‘मौनता’ र ‘अनुशासन’ को नाममा कसैको आदेश मान्ने मेसिन बनाइदियो?

वास्तवमा हामी विद्यालय र पाठ्यक्रम बिना यो आकाश झर्छ, संसार ठप्प हुन्छ भन्ने भ्रममा हुर्कियौं। शिक्षालाई हामीले केवल नम्बर, डिग्री, जागिर र पैसा बनाउने साधनमा सीमित गरिदियौं। यही गम्भीर विषयमा ब्राजिलियन शिक्षाविद् पावलो फ्रेयरको पुस्तक ‘पेडागोजी अफ दि अप्रेस्ड’ (उत्पीडितहरूको शिक्षाशास्त्र) ले एउटा क्रान्तिकारी दृष्टिकोण राख्दछ। उनी सोध्छन्— के शिक्षाको उद्देश्य केवल जानकारीको भण्डार गर्नु मात्र हो?

१.⁠ ⁠बैंकिङ मोडल: जहाँ विद्यार्थी एउटा ‘खाली खाता’ हो
फ्रेयरले आजको शिक्षा प्रणालीलाई एउटा खतरनाक “बैंकिङ मोडल” भनेका छन्। यसको अर्थ, जसरी बैंकमा पैसा जम्मा गरिन्छ, त्यसरी नै विद्यालयहरूमा बच्चाको दिमागमा जानकारी जम्मा गरिदिइन्छ। बच्चा केवल सुनिरहन्छ, लेखिरहन्छ र घोकिरहन्छ, तर कहिल्यै आफैँले सोच्न सिक्दैन। शिक्षक बोल्छ, विद्यार्थी चुपचाप मान्छ। प्रश्न सोध्नु वा फरक सोच्नु गलत ठानिन्छ। र यहींबाट असली दासता सुरु हुन्छ। किनकि, उनी भन्छन्, जुन मानिस प्रश्न गर्न नै छाडिदिन्छ, त्यो मानिस कहिल्यै स्वतन्त्र हुन सक्दैन।

Advertisement

२.⁠ ⁠शिक्षाको राजनीति र ‘अदृश्य’ उत्पीडन
फ्रेअरका अनुसार समाजमा दुई प्रकारका मानिस हुन्छन्— शक्तिशाली (Oppressors) र दबिएका (Oppressed)। आजको शिक्षा प्रणाली प्रायः शक्तिशाली (साधन्, श्रोत र नीति निर्माणमा पहुँच भएका) मानिसहरूकै फाइदाका लागि डिजाइन गरिएको हुन्छ। एउटा गरिब बच्चालाई गणित र विज्ञान त पढाइन्छ, तर उसलाई कहिल्यै यो सिकाइँदैन कि “उसको परिवार गरिब किन छ? समाजमा यति असमानता किन छ?” उसलाई केवल यति सिकाइन्छ कि “मेहनत गर, नियम मान र प्रणाली अनुसार चलिरहू” ताकि ऊ केवल एउटा राम्रो कर्मचारी वा मजदूर बनोस्, तर कहिल्यै यो नबुझोस् कि उसको असली अवस्था यस्तो हुनुमा कुन राजनीतिक र संरचनात्मक कारण जिम्मेवार छ।

३.⁠ ⁠संवादहीनता र मानसिक दासत्व
फ्रेयरका अनुसार असली शिक्षा त्यो होइन जसले केवल जानकारी दिन्छ। असली शिक्षा त त्यो हो जसले ऊभित्र ‘समझ’ पैदा गर्छ। उनले ‘डायलग-बेस्ड एजुकेसन’ अर्थात संवादमा आधारित शिक्षामा जोड दिएका छन्। जब शिक्षा कुराकानी र प्रश्न बन्छ, तब मात्र मानिसभित्र सोच्ने शक्ति पैदा हुन्छ। जबसम्म शिक्षाले मानिसलाई प्रश्न सोध्न सिकाउँदैन, तबसम्म त्यो असली शिक्षा होइन, बरु एउटा ‘तालिम कार्यक्रम’ मात्र हो। आजको संसारमा धेरैजसो मानिस पढे-लेखेका त छन्, तर जागरूक छैनन्। उनीहरूसँग डिग्री छ, तर केवल एक वफादार कर्मचारी बन्नका लागि, तर आफ्नो जिन्दगी र समाजको बारेमा गहिरो बोध छैन।

अत: फ्रेयरका अनुसार स्वतन्त्रताको बाटो पहिल्याउन शिक्षा एक प्रकारको क्रान्ति हो। तर यो क्रान्ति बन्दुकको होइन, सोचको क्रान्ति हो। असली परिवर्तन तब मात्र आउँछ जब उत्पीडितहरू आफैंले आफ्नो अवस्था बुझ्न थाल्छन्। शिक्षाको काम मानिसलाई ‘जगाउनु’ हो, उसलाई ‘चुप लगाउनु’ होइन। यदि हाम्रो शिक्षाले हामीलाई प्रश्न सोध्न र अन्यायको विरुद्ध उभिन सिकाउँदैन भने, बुझ्नुहोस्, हामी शिक्षित होइन, केवल एउटा प्रणालीका ‘वफादार र अनुशासित कर्मचारी’ मात्र हौं।

के तपाईँको युनिभर्सिटी डिग्रीले तपाईँलाई प्रश्न सोध्न सिकायो कि मौन बस्न? तपाईँको अनुभव तल कमेन्टमा साझा गर्नुहोला।