आकाश शेर्पा (आङकाजी)
मेरा बाल्यकालका उज्याला दिनहरू सम्झँदा सधैं एकै ठाउँ फर्किन्छु मेरो गाउँ, मेरो माटो, र मेरो हजुरबुबा हजुरआमाको न्यानो मायामा । त्यो गाउँ जहाँ जीवन सधैं ऋतु अनुसार बग्थ्यो, जहाँ प्रकृति सँगसँगै रमाउँथ्यो, र जहाँ मान्छेको पसिना नै सबैभन्दा ठूलो सम्पत्ति मानिन्थ्यो ।
हजुरबुबाले दोभानदेखि माथिसम्म हिउँदको समय बेशीमा गोठ सार्नुहुन्थ्यो । जाडोयाममा माटो र घामले गर्मी दिन्थे, त्यसैले गोरु–भैंसीलाई तल झारिन्थ्यो । खेतबारीमा अन्नबाली टन्न फल्थे, दुध, दही, मोही कहिल्यै कमि हुन्नथ्यो । अनि जब गर्मी र वर्षा आउँथ्यो, उहाँहरू फेरि माथिको लेकतिर गोठ सार्नुहुन्थ्यो । लेकमा ताजगी हुन्थ्यो, पानी प्रशस्तै हुन्थ्यो, अनि अन्नबाली पनि मजाले फल्थे । हरेक ऋतुमा गाउँको जीवन चैतन्यमय बन्थ्यो ।
गोठ सधैं पशुपालनले भरिएको हुन्थ्यो । हलगोरु, लैनो भैंसी, भेँडाबाख्रा—कहिल्यै नटुट्ने । बिहानै गोरु हलोमा जोतिन्थे, बेलुकी दुध दुहिन्थ्यो । हाम्रो भान्सामा कहिल्यै दुध, दही, मोहीको कमी हुने प्रश्नै उठ्दैनथ्यो । गाउँमा पाइने चिज–वस्तु बजारमा खोज्न आवश्यक थिएन ।
हजुरआमाको सिप त अझै बेग्लै । उहाँले सधैं तरकारीको बीउ राख्नुहुन्थ्यो । एउटा मौसमी साग काट्दा अर्को वर्षका लागि बीउ छुट्याउन भुल्नुहुन्नथ्यो । त्यसैले हाम्रो घरमा तरकारी कहिल्यै किन्नु पर्दैनथ्यो । बिहानै उठेर बारीमा जानुहुन्थ्यो, झार पन्छाउनुहुन्थ्यो, बोटलाई माया गर्दै पानी हाल्नुहुन्थ्यो । म पनि कहिलेकाहीँ पछिपछि लाग्थेँ । उहाँले भने झैं “माटोमा माया हाल्न सकियो भने माटोले कहिल्यै धोका दिँदैन ।”
गाउँ जीवन त्यति बेला कति रमाइलो थियो । उकालो–ओरालो गर्दा बस्तुभाउको आवाजले बाटो नै गुन्जिन्थ्यो । चराचुरुङ्गीको चिरबिर आवाज बिहानै उठ्ने घण्टी जस्तै हुन्थ्यो । दिनमा पात बजाएर गोठालो जानु रमाइलो लाग्थ्यो । हजुरबुबा गोठमा बस्न दिनुहुन्नथ्यो, तर म जिद्दी गरेर “आज त गोठमै सुत्छु” भन्थेँ । उहाँ हाँस्नुहुन्थ्यो, अनि मलाई सानो टर्च लिएर गोठतिर लैजानुहुन्थ्यो । त्यो सम्झना अझै मेरो आँखामा ताजा छ ।
तर समय कसैको लागि रोकिँदैन । जब हजुरबुबा र हजुरआमा उमेरले थकाउन थाल्नुभयो, तब गाउँको चहलपहल पनि घट्न थाल्यो । खेतबारी बाँझो हुन थाले, गोठ रित्तिन थाले । दुध, दही, मोहीका भाँडाहरू खाली हुन थाले । दही जमाउने ठेकी सुकेर चिरा पर्न थाले । घुमाउने मदानी झुन्डिएर नचल्ने भए । सागसब्जी र सिजन अनुसार फल दिने बोट–बिरुवा सुक्दै गए । चराचुरुङ्गी पनि अब गाउँमा देखिन्नन् । कहिल्यै नभएको सुनसान गाउँमा पसिन लागेको मेहनत हराउँदै गयो ।
त्यसैबीच म पनि परदेश लागेँ । हजुरबुबा–हजुरआमाले “छिट्टै फर्केर गाउँमै बस, खेतबारी नबाँझाऊ, गोठ रिक्त नपार” भन्ने चाहनालाई मनको कुनामा राखेर, शहर र महलको सपना देख्दै परदेश पसेँ । “आजलाई मात्र हो, भोलि फर्कन्छु” भन्ने वाचा आफैंसँग गर्दै विदेशिएँ । तर फर्कने बाटो अझै लामो हुँदै गइरहेको छ ।
हजुरबुबा–हजुरआमा क्रमशः कमजोर हुँदै जानु भयो । मैले आउन जान गरिरहँदा, कहिले भेटेर, कहिल्यै नचाहेर, उहाँहरूले यस संसारलाई विदा गर्नुभयो । त्यो दिन मेरो मन चिरिनु भयो । उहाँहरूको मायाले बनाएको घर, पसिनाले सिंचेको बारी, अनि मेहनतले भरिएको गोठ सबै मसँग कुरा गर्ने जस्तो लाग्थ्यो । तर म परदेशमै थिएँ । उहाँहरूको अन्तिम इच्छा —“फिर्ता आउ, गाउँमै बस ।” मैले पुरा गर्न सकिनँ ।
आज गाउँमा पुगेँ भने, हरेक ठाउँमा उहाँहरूको छाया मात्र देख्छु । बाँझो बारी, रित्तो गोठ, खाली ठेकी, अनि झुन्डिएको मदानी । यी सबै वस्तुहरू बोलिरहेका हुन्छन्, तर शब्दमा होइन स्मृतिमा । म हरेक बिदामा गाउँ पुग्छु, अनि ती सबै सम्झनाहरू फेरि ताजा हुन्छन् ।
गोठालो जाँदा पात बजाएर रमाइलो गरेको त्यो क्षण, बारीमा पहिलो चोटि फल चाखेको त्यो अनुभव, गोठमा सुत्न जिद्दी गरेर हजुरबुबा पछ्याएको त्यो हाँसो—यी सबै दृश्यहरू फेरि जीवित हुन्छन् । गाउँले मलाई सधैं सम्झाउँछ “तिमी परदेशी हौ, तर तिम्रो माटो यहाँ छ ।”
तर वास्तविकता कस्तो तीतो छ भने, गाउँमा जीवन पहिलेजस्तो छैन । युवा परदेशिएका छन्, बारी बाँझिएका छन्, गोठ खाली छन् । शहर पस्ने मोह, ठूलो महल बनाउने चाहनाले गाउँको सादगी हराउँदै गएको छ । आज मलाई लाग्छ, मैले बनाउने सपना जति ठूलो भए पनि, त्यो सपना कहिल्यै हजुरबुबा हजुरआमाको पसिनाले सिंचेको बारीजस्तो हुन सक्दैन ।
परदेशले मलाई पैसा दिन सक्छ, तर गाउँले दिएको आत्मसन्तुष्टि कहिल्यै दिन सक्दैन । महल त बनाउला, तर त्यो महलमा हजुरबुबा हजुरआमाको मायाको न्यानोपन कहाँ पाउँछु र?
गाउँ आज पनि उस्तै सुन्दर छ, तर खाली छ । त्यो सुनसानताले मन पोल्छ । कहिल्यै नथाक्ने खेत, कहिल्यै नखाली हुने गोठ, कहिल्यै नबाँझिने बारी आज समयसँगै मौन छन् ।
तर म जान्छु स्मृतिहरू भने कहिल्यै मौन हुँदैनन् । गाउँले मलाई हरेक दिन बोलाइरहेको छ । हजुरबुबा–हजुरआमाको माया अझै त्यो माटोमा बसिरहेको छ । जब बादल लाग्छ, खेतको बासना आउँछ । जब चराहरू चिर्बिर गर्छन्, हजुरबुबाको हाँसो सुन्ने गर्छु । जब पात खस्छ, हजुरआमाको माया सम्झिन्छु । सम्झिएर मात्र टोलाउछु अनि घोत्लिछु बस् ।
तर माफ गर्नुहोस् हजुरबुबा, यसपाली पनि तपाईंले मेहनतले सिंचिएको बारी बाँझै छोडेर, म परदेश लागेँ । मेरो बाध्यता भनु वा मेरो सपना र मेरो विवशता खै यी सबैको बीचमा तपाईंको चाहना पुरा गर्न सकिनँ ।
तर विश्वास गर्नुहोस्, तपाईंहरूको सम्झना, तपाईंहरूको माया, तपाईंहरूको आशीर्वाद । आज म परदेशी छु, तर मेरो आत्मा गाउँमै छ । स्मृतिमा बाँचेको त्यो गाउँ, त्यो गोठ, त्यो बारी मेरो जीवनको सबैभन्दा ठूलो सम्पत्ति रहेको छ ।
ओखलढुंगा, हाल कुवेत




