November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गाउँमा छोरीको पहिलो पाइला

आकाश शेर्पा (आङकाजी)
२०८२ आश्विन ११

960

आकाश शेर्पा (आङकाजी)

विदेशमा लामो समय बिताएपछि, पहिलो पटक छोरीसहित हामी श्रीमानश्रीमती नेपालको यात्रामा निस्केका थियौं । मनमा अनगिन्ती भावना थिए—उत्साह, कौतुहलता, देशप्रेम, अनि परिवार भेट्ने उत्कट चाहना । केही हप्ताको छुट्टीलाई अवसर मानेर सुरु भएको यो यात्रा हाम्रो जीवनकै विशेष यात्रामध्ये एक रह्यो । बिहानको घामसँगै जब हाम्रो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो, त्यो क्षणले मनमा उर्लिएको खुशीलाई शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ । परदेशमा वर्षौं बिताए पछिको दिन आफ्नै देशको माटोमा पाइला टेक्नु, साँच्चै अमूल्य र हृदयस्पर्शी अनुभव थियो ।

विमानस्थलमा ओर्लने बित्तिकै हामीलाई बहिनीहरूले गरेको आत्मीय स्वागतले आँखा रसाइरहेका थिए । छोरीलाई पहिलोपटक नेपाल प्रवेश गर्दा खदा ओढाएर, फूलमाला लगाएर, अनि केक काटेर गरिएको स्वागत । सानो नानीले आफ्नै देशमा पाइला टेक्नेबित्तिकै पाएको त्यो मायालु व्यवहार, परिवारको आत्मीयता र संस्कृतिको झल्को थियो । विमानस्थलमै सबैको अनुहारमा झल्किएको उत्साह र खुसी हाम्रो लागि जीवनभरको सम्झना बन्न पुग्यो । माइलो भाइ र काका त हामी आउनु भन्दा एक दिन अघिदेखि नै काठमाडौँमा हाम्रो पर्खाइमा थिए । उनीहरूको अनुहारमा देखिएको उत्साह, छोरीलाई पहिलो पटक भेट्दा आँखामा चम्किएको प्रेम, सबै कुराले यात्राको थकाइलाई क्षणभरमै हराएको थियो ।

Advertisement

त्यो दिन फेरि हामीले अर्को लामो यात्रा सुरु गर्नु पर्ने थियो । काठमाडौँबाट लगभग २३० किलोमिटर टाढा रहेको आफ्नै गाउँ, ओखलढुंगातर्फ । बाटोको लाम्बाइ मात्र होइन, प्रकृतिको सुन्दरताले पनि हाम्रो मनमा फरक स्वाद भरिदिएको थियो । गाडीको झ्यालबाट बाहिर हेर्दा हरियो डाँडाकाँडा, खोला र पहाडको रमणीय दृश्यहरूले मन शान्त बनाइरहेका थिए । तर यात्रा त्यति सहज थिएन । सुनकोशी नदीको किनारै–किनार यात्रा गर्दा बाढीले बगाएको खोलाको बाटो छिचोल्नु परेको थियो । ती क्षणमा रोमाञ्चकता र साहस दुवै मिसिएका थिए । गाडीको एकातिर खोलाको गर्जन, अर्को तिर उकालो र ओरालो बाटो, अनि बीचमा हाम्रो यात्रा । छोरीको अनुहारमा देखिएको कौतुहलता, कहिले उत्साहित, कहिले अलिक डराएको भाव, सबैले यात्रालाई अझै यादगार बनाइदियो ।

अन्ततः सुनकोशी तरेर, हिलेपानी उक्लिँदै बेलुका करिब ९ बजे हामी आफ्नो जन्मघरमा पुग्यौं । अँध्यारो पलिसकेको थियो तर घर अगाडि पुगेको क्षणमा भने उज्यालोको घामझैं मन प्रफुल्ल भयो । बुबा, आमा र साइलो भाइले हाम्रो कल्पनाभन्दा भिन्न र सुन्दर स्वागतको तयारी गर्नुभएको रहेछ । पुष्पगुच्छा र दहीले गरिएको स्वागतले मन गह्रौं भयो । थकाइले शरीर थकित थियो तर आत्मीयता र मायाले त्यसलाई तुरुन्तै बिर्साइदियो । त्यो स्वागत केवल औपचारिकता थिएन, त्यो त परिवारको माया, सम्झना र प्रतिक्षाको प्रतीक थियो । परदेशमा वर्षौं बिताउँदा जुन आत्मीयता गुमेको अनुभूति हुन्थ्यो, त्यो पलमा फेरि प्राप्त भएको जस्तो लाग्यो ।

यो यात्रा केवल हाम्रो लागि मात्र महत्वपूर्ण थिएन, छोरीका लागि अझ विशेष थियो । पहिलो पटक आफ्नो जन्मभूमिको आँगनमा पाइला टेकेको उसको अनुभव जीवनभर अमूल्य रहला । अर्को बिहान, आँगनमा घामको प्रकाश फैलिँदै गर्दा छोरीले आफ्नो ब्याग बोकेर कोठाबाट निस्कँदै “गुड मर्निङ्ग” भन्ने आवाजले सबैलाई हसाइरहेको थियो । घर छेवैमा रहेका लैनो भैसी र पाडोलाई देख्दा ऊ अलिक डराउँथी । त्यसैले बार लगाएर मात्र कोठाबाट निस्कनु उसको बानी बनेको थियो । हामी सबैलाई उसको बाल स्वभाव व्यवहार निकै रमाइलो लाग्थ्यो ।

छाडिएका कुखुराहरूलाई जबसम्म कोही छोप्दैन, ऊ माथि बार्दलीमा बसेर “छोप… छोप…” भनेर कराउने गर्थी । त्यो उसका रमाइला बाल्य क्षणहरू हामी सबैलाई खुशी दिने गथ्र्यो । त्यसैगरी, काकाहरूसँग जिस्किनु उसको अर्को रमाइलो पक्ष थियो । “काका, चुरोट खानु हुँदैन है!” भनेर बालसुलभ चेतावनी दिने गर्थी । माइला काकालाई दिनहुँ “व्यायाम गर्नु पर्छ है!” भनेर सम्झाउने उसको बानी, सबलाई हसाउने र प्रेमिल अनुभूति दिलाउने गथ्र्यो । गाउँको वातावरणमा रमाउँदै, धुलो–माटो, चिसो हावा र हरियालीसँग खेल्दै बिताएको त्यो एक हप्ताको समय छोटो भए पनि मिठो रह्यो ।

गाउँको खुला आकाशमुनि, साँझको गाईने गीत बजिरहेको धुन, बिहानको कोइलीको आवाज, खेतबारीमा व्यस्त मानिसहरूको मुस्कान—यी सबै दृश्यहरूले हाम्रो मनलाई फेरि–फेरि आफ्नो देशप्रेमको सम्झना गराइरहेका थिए । छोरीका लागि यो संसार नयाँ थियो, तर हाम्रो लागि पुरानो सम्झनाको ढोका खुलिरहेको थियो । ऊ कहिले आमा सँगै आँगनमा बस्ने, कहिले बुबासँग गाउँ वरपर घुम्ने, अनि कहिले दाजुभाइसँग जिस्किने यी क्षणहरूले हाम्रो यात्रा अझै गहिरो अर्थपूर्ण बनाइदियो ।

यो यात्रा केवल घुमफिर वा छुट्टी मनाउने मात्र होइन, हाम्रो जीवनमा गहिरो अर्थ बोकेको थियो । परदेशमा बस्दा जुन अभाव महसुस हुन्छ त्यो आफ्नो घर, आफ्ना आफन्त, आफ्नो संस्कृतिको त्यो सबै कुरा यस यात्राले फेरि अनुभव गरायो । बुबा–आमासँग बिताएका पल, भाइबहिनीहरूसँगको रमाइलो, छोरीले देखेको नयाँ वातावरण र खेल्ने शैली—यी सबैले हामीलाई याद दिलायो कि जहाँ गए पनि आफ्नो देशको माया र आत्मीयता कहिल्यै हराउँदैन । हामीले सोचेको भन्दा यो यात्रा अझै आत्मीय र यादगार बन्यो । पहिलो पटक छोरीलाई आफ्नै देशको माटोमा पाइला टेकाउन पाउनु, आफ्ना मायालु परिवारसँग मिलन हुनु, अनि गाउँको हावामा सास फेर्न पाउनु यी सबै क्षण जीवनभर ताजा रहनेछन् ।

जीवनमा कैयौं यात्रा हुन्छन् तर केही यात्रा मात्र जीवनभर हृदयमा अंकित रहन्छन् । यो हाम्रो त्यस्तै एक अविस्मरणीय यात्रा थियो । विदेशमा भए पनि हाम्रो मुटु सधैं यही माटोसँग गाँसिएको छ भन्ने अनुभूति यस यात्राले फेरि दिलायो । छोरीलाई जन्मभूमिको माया चिनाउन पाएको अवसरले हामीलाई गर्व दिलायो । यो यात्राको सम्झना, हरेक पल, हरेक अनुहारमा देखिएको खुशी, र प्रत्येक आत्मीय स्पर्श यी सबै हाम्रो जीवनको कोसेढुंगा बन्न पुगेका छन् । परदेशमा कति बसियो भन्ने भन्दा पनि, आफ्नै घर फर्कँदा पाएको त्यो आत्मीयता नै जीवनको असली सम्पत्ति हो भन्ने कुरा हामीले प्रष्टसँग महसुस गर्न पायौं ।

ओखलढुंगा हाल कुवेत