March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

विमल गुरुङ कृति पुरस्कार–२०८० थाम्सुहाङको निबन्धकृति ‘शब्दथुम’ लाई

२०८१ कार्तिक १५

1K

धरान । यस वर्षको ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ इलामका कवि निबन्धकार प्रकाश थाम्सुहाङको निबन्ध सङ्ग्रह ‘शव्दथुम’लाई प्रदान गरिने भएको छ । बिहीबार महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसर पारेर कवि विमल गुरुङ स्मृति पुस्तकालय समितिले पत्रकार सम्मेलन गर्दै थाम्सुहाङको निबन्ध कृति ‘शव्दथुम’लाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

पुस्तकालयका अध्यक्ष पूर्णवहादुर गुरुङकाअनुसार विमल कृति पुरस्कारकालागि स्वदेश र विदेशबाट प्रकाशित नेपाली भाषाका १०२ पुस्तकहरू दर्ता भएका थिए । ती मध्ये यसअघि १० श्रेष्ठ पुस्तक छनौट गरिएको थियो । तिनै १० श्रेष्ठ मध्ये थाम्सुहाङको निबन्ध कृति ‘शव्दथुम’ लाई विमल कृति पुरस्कार प्रदान गर्न उचित भएको सिफारिस निर्णायक समितिबाट प्राप्त भएको अध्यक्ष गुरुङले बताए ।

निर्णायक समितिले शब्दथुम निबन्ध कृतिले शब्दको शक्तिलाई पुष्टि गर्ने प्रयत्न गरेको र कृति भित्र रैथाने चेतदेखि बैश्कि चिन्तन र मिमांसा पाएको उल्लेख गरेको छ ।

Advertisement

कृति पुरस्कार कात्तिक २४ गते आयोजना हुने ३३ औं राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५३ औं जन्मजयन्तीको अवसरमा कृतिकार प्रकाश थाम्सुहाङलाई नगद राशी दुई लाख रुपैयाँ अर्पण गरिने समितिका उपाध्यक्ष प्रदीप मेन्याङ्बोले जानकारी दिए ।

यसअघि विमल कृति पुरस्कार काङ्माङ नरेशको कविता सङ्ग्रह ‘तेप्लायु’, चन्द्र गुरुङको कविता सङ्ग्रह जव एउटा मान्छे हराउछ र दार्जिलिङ्का विजय बान्तवा कैलाशीको कृति मित्याङ्सालाई प्रदान गरिएको थियो ।
विमल कृतिका पुरस्कारका लागि छनौटमा परेका १० कृतिहरुमा दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कवितासंग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता सङ्ग्रह केवाफुङ्को गीत, मोमिलाको निबन्ध सङ्ग्रह प्रश्नहरू त बांकी नै रहन्छन्, जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध, इन्दु नेपाल योन्जनको कविता सङ्ग्रह अन्तिम सेलो, प्रकाश थाम्सुहाङको निबन्ध सङ्ग्रह शब्दथुम, अखण्ड भण्डारीको उपन्यास बोरा, प्रविण खालिङको निबन्ध सङ्ग्रह चियागफ, मन्जुला तामङ सुव्वाको कविता सङ्ग्रह कुहिरो भित्र घुम जोरबङ्गलो रहेका थिए ।

यसैगरी पुस्तकालय समितिका उपाध्यक्ष मेन्याङ्बोकाअनुसार उक्त अवसरमा सुनसरीको तरहरा बसेर नेपाली साहित्यसंगै पत्रकारिता गर्दै आएका शिर्जनशील युवा विवेक विबस रेग्मीलाई यो बर्षको ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान’ प्रदान गरिने छ । उनकाअनुसार उक्त अवसरमा सिक्किमा लेखक टिवि चन्द्र सुव्वा, १०३ बर्षीया ज्येष्ठ नागरिक दिलमाया गुरुङ, अर्का ज्येष्ठ नागरिक विरेन गुरुङलाई पनि सम्मान गरिने छ । उनकाअनुसार सोही दिन उत्कृष्ट १० कविता मध्ये प्रथम, द्धितिय र तृतीय हुने कविहरूलाई पनि क्रमशः नगद २१ हजार, १८ हजार र १७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने छ ।

उत्कृष्ट १० कविताहरुमा खोटाङका अनाम अपेक्षितको एउटा सडकको समालोचना, संखुवासभाका सिजन श्रेष्ठको तेजबहादुर दर्जी, नवलपरासीका अन्जान प्रदीपको सपना, बेलायतका शान्ति लिम्बूको थेम्स नदिको किनारै किनार, मोरङका समिक्षा छिलिङ राईको फूल र म, इलामका दिपेन्द्र आचार्यको ल्याप्चे, सुनसरीका मिन्जाई राईको बुढो परदेशी, फ्रान्सका प्रसान्त उप्रेतीको विलासी राता बाकस, ताप्लेजुङका लेकाली कान्छा मुक्कुमका रैथाने बगैचाको अर्गानिक मुस्कान र सुनसरीका दिपा मग्रातीको देशमा मेरो अनुहार रहेका छन् ।