November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

इलाम दरवारमा ‘आन्छनको कथाहरु’ माथि विमर्श

1.2K

इलाम । साहित्यकार चन्द्र मादेन आन्छनाको कथासंग्रह ‘आन्छनका कथाहरू माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । विहीबार स्थानीय अरनिको सांस्कृतिक सङ्ग्रहालय इलाम दरवारको सभाहलमा समीक्षात्मक विमर्श कार्यक्रम सम्पन्न गरिएको हो ।

इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको सभापतित्व र नागरिक समाजका जेष्ठ व्यक्तित्व एवं ईतिहासविद युद्ध प्रसाद वैद्यको प्रमुख आतिथ्यता रहेको थियो। विशेष अतिथिहरूमा नेपाली लेखक संघकी पूर्व अध्यक्ष छन्द कवि टिका घिमिरे र पाहुना अतिथि कथाका कृतिकार आन्छन् थिए।

कार्यक्रममा श्रष्टा आन्छनलाई सभापति थाम्सुहाङ, प्रमुख अतिथि वैद्य र ताप्लेजुङ इलाम समाजका अध्यक्ष निरु चाम्लिङले रुद्राक्ष माला, खदा र फूलका गुच्छाले सम्मान गरेका थिए ।

Advertisement

कार्यक्रममा प्रतिष्ठानका सदस्य खिना बस्नेतले स्वागत मन्तव्य र प्राज्ञ कोमल निरौला, इलाम क्याम्पस प्रमुख देवी गौतम, लेखक संघ इलामका सचिव तुलाराम पुरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कथासंग्रह बारे बोल्दै प्रगतिशील लेखक संघका महासचिव डा. देवी क्षेत्री दुलालले आन्छनका कथाहरुमा सरल, मौलिक, मार्मिक र यथार्थपरक पठनीय भएता पनि प्राय शिर्षकहरू पत्रकारिता जस्तो भएको टिप्पणी गरे ।

यस्तै, अर्का समीक्षक प्राज्ञ रवीमान लम्जेलले १० वटा कथाहरुमा विकृति, विसंगति र वेथितिविरुद्ध सन्देशमूलक कथा भएको टिप्पणी गरे । आफू ताप्लेजुङको माटोमा अढाई दशक ज्यादा बसेकोले प्रसंग जोड्दै उनले भने, ‘मादेन वंशमा आन्छनजी मात्र एउटा यस्तो पृथक, सृजनशील र सहयोगी निस्किए ।’

अर्का समीक्षक कवि विमल वैद्यले आफूले सवै कथा समयभावले पढ्न नपाएता पनि ३/४ वटा कथा पढ्दा ज्यादै मिठो आकर्षण लागेता पनि लेखक साहित्यकारहरुले पीडा र व्यथाको कुरा मात्र नभएर निकास र निस्कर्ष दिने सृजनाहरू लेखिनुपर्ने सुझाव दिए ।

कृतिकार आन्छनले भव्य स्वागत/सत्कारका साथ आफ्नो कृतिको समीक्षा विमर्श कार्यक्रम राखेकोमा आयोजक संस्था र सम्पूर्ण उपस्थित इलामे साहित्य अनुरागीप्रति आभार र कृतज्ञता व्यक्त गर्दै एउटा कविता सुनाएका थिए ।

कार्यक्रममा शिक्षाविदहरू गणेश पौडेल, चन्द्र मणी गौतम, कवि ईन्द्र नारायण सुवेदी र कवि ईश्वरी तामाङले पनि कविता सुनाएका थिए।

प्रमुख अतिथि पूर्व क्याम्पस प्रमुख युद्धप्रसाद वैद्यले आफूले यो पुस्तक पढ्न नपाएता पनि सरसर्ति हेर्दा आन्छनको कथाहरुको शीर्षकनै आकर्षण लागेको र आगामी दिनमा यो भन्दा राम्रो कृतिहरू लिएर आउन मादेनलाई शुभकामना दिएका थिए।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष थाम्सुहाङले आन्छनलाई वधाई दिंदै कुनै पनि शिल्प र कला मिसाएर सुन्दर सृजना गर्नुनै साहित्य भएको बताए ।

कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव जय नारायण भट्टराईले गरेका थिए।