January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

पाठकमाझ राधिका कल्पितको ‘सम्मोहन’

790

काठमाडौं । साहित्यकार राधिका कल्पितको कथासङ्ग्रह ‘सम्मोहन’ सार्वजनिक भएको छ । शुक्रबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच लेखकहरू श्यामल, डा बिन्दु शर्मा, हेम भण्डारी र सर्जजकले एकसाथ सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय कविता महोत्सव–२०८० को उत्कृष्ट दशलगायत आधा दर्जन बढी राष्ट्रिय कविता प्रतियोगितामा पुरस्कृत भइसकेकी कल्पितको ‘सम्मोहन’ दोस्रो कृति र पहिलो कथासंग्रह हो । उनको यसअघि ‘बरफका कोइलाहरू–२०७७’ कवितासंग्रह प्रकाशित छ ।

कल्पित साहित्यद्धारा सामाजिक मुद्दा बोल्ने सर्जक हुन् । विशेष महिला मुद्दामाथि लेखिएका उनका कविताहरू बेजोड छन् । ‘सम्मोहन’ कथासंग्रहले पनि नेपाली समाजका पितृसत्तात्मक संरचनाको आलोचना गर्नुका साथै लैङ्गिक विभेदलाई उजागर गरेको पत्रकार हेम भण्डारीले बताए । उनले भने, ‘कथाहरूमा सामाजिक जटिलता र राज्यको उपस्थितिलाई मिहिन ढंगले प्रश्न गरिएको छ ।’

Advertisement

यस्तै, कवि श्यामलले ‘सम्मोहन’ कथासंग्रह सामाजिक र मनोवैज्ञानिक दृष्टिकोणबाट सशक्त र आशलाग्दो कृति भएको बताए । संग्रहबारे बोल्दै उनले भने, ‘कथामा राजनीतिक प्रभाव नराखी सामाजिक यथार्थलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ ।’

संग्रहबारे बोल्दै समालोचक डा बिन्दु शर्माले कथामा यथार्थ र अचेतनका दमित इच्छालाई सुन्दर तरिकाले प्रस्तुत गरिएको बताइन् । ‘सम्मोहन’ आदर्शको मुकुण्डो लगाएका पात्रहरूको संवेदनामा आधारित, मनोवैज्ञानिक गहिराइ भएको कृति भएको उनको दाबी छ ।

चालिसकै दशकदेखि साहित्य लेखन सुरु गरेकी कल्पित आफू कुनै रहर र लहडले लेखन क्षेत्रमा नआएको बताउछिन् । केही सामाजिक मुद्दाहरु बोकेरै साहित्यमा होमिएको उनको भनाई छ ।

इन्डिगो इन्क प्रालिद्धारा प्रकाशित ‘सम्मोहन’ मा १४ वटा कथा संग्रहित छन् । यसको मूल्य ४९९ रुपैयाँ राखिएको छ ।