November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

साहित्यकार धरणीप्रसाद गौतमको अभिनन्दन तथा ‘इलाम बोल्छ’ कृति लोकार्पित

1.6K

काठमाडौं । इलाम विकास समाज, काठमाडौंले आज राजधानीमा आयोजना गरेको विशेष कार्यक्रममा साहित्यकार धरणीप्रसाद गौतमलाई अभिनन्दन गर्दै गौतमको सातौं कवितासङ्ग्रह ‘इलाम बोल्छ’को लोकार्पण गरेको छ ।

सामाजिक विकास समाज, अनामनगर, काठमाडौंको सभाकक्षमा आयोजना गरिएको सो कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार मोहन सिटौलाले साहित्यकार गौतमलाई अभिनन्दन प्रदान गर्दै ‘इलाम बोल्छ’ कवितासङ्ग्रहको लोकार्पण गरेका हुन् ।

इलाम विकास समाज, काठमाडौंका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कार्यक्रमका विशेष अतिथिहरु नेपाल सरकारका पूर्व सचिव खेमराज नेपाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी र समाज कल्याण परिषदका पूर्व कोषाध्यक्ष लोकनाथ सुवेदीले शुभकामना मन्तव्य राख्दै ‘इलाम बोल्छ’ कवितासङ्ग्रहले इलाम चिनाउन मद्दत पुग्ने विचार व्यक्त गर्दै साहित्यकार गौतमले शैक्षिक, साहित्यिक र सामाजिक क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गरेका थिए ।

Advertisement

कार्यक्रममा समालोचक डा. फणीन्द्रराज निरौलाले लोकार्पित कृति ‘इलाम बोल्छ’बारे समीक्षा गरेका थिए भने समालोचक डा. रमेश शुभेच्छुकले कार्यक्रमको सहजीकरण तथा साहित्यकार गौतमको व्यक्तित्वबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मोहन सिटौला, अध्यक्ष राधेश्याम लेकाली, अभिनन्दित साहित्यकार धरणीप्रसाद गौतमले आआफ्नो मन्तव्य राखेको सो कार्यक्रममा कविहरु प्रज्ञा गौतम, निष्ठा निरौला र बैजन्ती पोखरेलले लोकार्पित कृतिबाट कविता वाचन गरेका थिए ।

प्रमुख अतिथि मोहन सिटौला र कवि मित्र गौतमलाई विशेष सम्मान गरिएको सो कार्यक्रममा दशैं, तिहार, छट पर्वको शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

कार्यक्रममा अविरल झरीका वावजुद साहित्यकार र इलामेहरुको बाक्लो उपस्थिति रहेको थियो ।