April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

दमकमा आन्छनका कथाहरुको समीक्षा

1.5K

दमक । झापाको दमकमा ‘आन्छनका कथाहरु’ पुस्तक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार फाल्गुनन्द चोकस्थित साहित्य कला सङ्गमको सभाहलमा साहित्यकार चन्द्र मादेन आन्छनका पुस्तक चर्चा र सृजना वाचन कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष विष्णु न्यौपानेको सभापतित्वमा तथा प्रतिभा निकेतन साहित्यिक संस्थाका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार खेमलाल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार आन्छन रहेका थिए भने विशेष अतिथिहरुमा दमक वहुमुखी क्याम्पसका प्राध्यापक एवं वाँस्कोटा धनन्जय, प्रतिभा निकेतनका अध्यक्ष एवं शिक्षाविद् कमलराज भट्टराई लगायत रहेका थिए ।

mostbet

लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र विशेष अतिथिहरुलाई संस्थाका अध्यक्ष न्यौपानेले मायाका चिनो सुद्ध नेपाली ढाका टोपी र पवित्र रुद्राक्ष माला पहेराई स्वागत गरेका थिए ।

Advertisement

आन्छनका कविता माथि चर्चा गर्दै समीक्षक एवं साहित्य कला सङ्गमका उपाध्यक्ष विन्दु दाहाल मूकदर्शकले आन्छनका पुस्तक भित्र अक्षर, चित्रहरु र वाहिर आवरण रङ छरितो, सुन्दर र आकर्षण भएको र कथाहरु पनि पठनीय रहेको बताउदै १०वटा प्रत्येक कथाहरुको छुट्टाछुट्टै वर्णन गरेका थिए ।

अर्का समीक्षक प्राध्यापक एवं वरिष्ठ साहित्यकार वाँस्कोटा धनन्जयले राजनीतिक, सामाजिक, पारिवारिक, मायाप्रेमदेखि प्रकृतिक चराचरहरु आदिदेखि विकृति विसंगतिका कुराहरु सबैलाई समेटिएर लेखिएको यस कथामा पात्रहरुको सम्वादलाई केही लामो, छुट्टै र स्वतन्त्र हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा साहित्यकार आन्छनले आयोजक संस्थाप्रति आभार प्रकट गर्दै समीक्षकहरुको विचारलाई शिरोपर गर्नुका साथै एउटा देशभक्ति कविता पनि सुनाएका थिए ।

संस्थाका सचिव दीपक सुवेदीद्धारा संचालित सो कार्यक्रममा कविहरु मेघनाथ वन्धु, यादव प्रसाद नेपाल, दधिराम खनाल, शान्त प्र. भट्टराई, खड्ग व. खड्गा, मदन सिवाकोटी, राज कुमार खड्गा, नेत्र प्र. अधिकारी, अम्विका अधिकारी, विरेन्द्र खड्गा, दुर्गा खनाल काफ्ले, गोपाल प्र. दाहाल, शारदा निरौला, डिल्लीराम निरौला, कृष्ण उदासी, ओम प्र. खनाल आदि दुई दर्जन स्रष्टाहरुले देश प्रेम र समसामयिक गद्य र पद्य कविता सुनाएका थिए ।

कवि कृष्ण प्रसाद सिग्देलले चन्द्र मादेन आन्छन आफ्नो कक्षा सहपाठी र वालसखा मित्र भएको उल्लेख गर्दै मादेन परिवार बारे जानकार भएको उल्लेख गरे । उनले कार्यक्रममा बस्दाबस्दै तैयार पारेको जानकारी दिँदै छन्द कविता सुनाएका थिए ।

साहित्य कला सङ्गम विगत ३० वर्षदेखि पूर्वकै क्रियाशील साहित्यिक संस्था हो ।