काठमाण्डौं । स्थानीय पेप्सीकोला ग्लोबल पब्लिक स्कुलको सभाकक्षमा मनोहरा साहित्य समाजको ९२ औँ मासिक रचनावाचन शृङ्खला सम्पन्न भएको छ ।
समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्वमा लोकवार्ता परिषद्का उपाध्यक्ष प्राडा ध्रुवकुमार घिमिरेको प्रमुख आतिथ्य, सिनामङ्गल नगरसेवा समाजका अध्यक्ष विजयराज पौडेलको विशिष्ट आतिथ्यता र बुढ्यौली साहित्य समाज भक्तपुरका अध्यक्ष कविराज घिमिरेको विशेष आथित्यतामा सञ्चालित रचनावाचन शृङ्खलामा ३५ जना स्रष्टाले विभिन्न विधा र विषयका आआफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रममा पाँचजना व्यक्तित्वले समाजको आजीवन सदस्यतासमेत ग्रहण गरेका थिए । चिरञ्जीवी रेग्मी, छत्रभूषण दाहाल, गीता कार्की, जयकृष्णलाल वज्राचार्य, सरिता तिमल्सिना, कपिल अर्याललगायतका लगालत विभिन्न साहित्यकार श्रोताहरूको समेत सहभागिता रहेको उक्त कार्यक्रम संस्थाका सचिव भावकेशर बरालले सञ्चालन गरेका हुन् ।
समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति डिल्लीराज अर्यालले शिष्टताले श्रद्धावश शिर झुकाएको प्रसङ्ग उठाएको नमस्कार शीर्षकको अनुष्टुप छन्दयुक्त कविताबाट रचनावाचन शृङ्खला प्रारम्भ गरेका थिए ।
साहित्यकार अप्सरा पोखरेलले सामयिक विषयमा दुईवटा मुक्तक प्रस्तुत गरेकी थिइन् भने चन्द्र मादेन आन्छनले असमानताका सन्दर्भ उल्लेख गर्दै दुईवटा मुक्तक प्रस्तुत गरेका थिए ।
यस्तै, घमा भट्टराईले ‘केमा छ यो सम्झँदै’ शीर्षकमा शान्ति केमा पाइन्छ भन्ने चिन्तनमूलक कविता वाचन गरेका थिए । ओम आचार्यले उपजाति छन्दमा ‘आह्वान’ शीर्षकमा प्रज्ञा बचाउनुपर्ने भावको कविता प्रस्तुत गरेका थिए । छविलाल अधिकारीले ‘नरुवाउ भगवान्’ शीर्षकमा गीतिलयको कविता वाचन गरेका भने नुरदेव खनालले तीज गीतको लयमा ‘निराश जनताको पीडा’ शीर्षकको कविता वाचन गरे । धरणीधर गुरागाईले श्रुतिमधुर गीति ‘फाँकीमा गहन भाव’ व्यक्त गरे भने सूर्यप्रसाद डुम्रेले मोतीराम भट्टलाई स्मरण गर्दै ‘फर्केर आउ घर’ शीर्षकमा मन्दाक्रान्त छन्दमा ‘स्वदेश फर्कनुपर्ने’ भावको कविता वाचन गरेका थिए ।
भावना न्यौपानेले रेणुका भट्टराईद्वारा लिखित काव्यको अंश ‘मञ्जरी’को बाल्यकाल प्रस्तुत गरे भने भावभूमि समेटेर पाठक मन शीर्षकको रचना प्रस्तुत गरे । सम्पत् काफ्लेले तीज गीतको फाँकी गाएर ‘अहिंसा शीर्षक’को अनुष्टुप छन्दको कविता वाचन गरे । विनन्द वैद्यले ‘पुण्यकर्म गरी हामी जिउन सिकौँ’ शीर्षकमा गीतिलयको अध्यात्मचेतनायुक्त कविता प्रस्तुत गरे भने केशव ज्ञवाली आगतले आत्मिक प्रेम, प्रेममा समर्पणलगायतको भावभूमिमा प्रेम शीर्षकको कविता वाचन गरे । प्रेमनाथ घिमिरेले ‘रक्सी महात्म’ शीर्षकमा सुन्दर व्यङ्ग्य कविता प्रस्तुत गरे भने शान्ति सापकोटाले शार्दूलविक्रीडितमा ‘छोरी पठाएपछि’ शीर्षकमा वात्सल्यप्रेमयुक्त रचना प्रस्तुत गरे ।
यस्तै, अशोककुमार लामिछानेले छन्दोबद्ध रचना प्रस्तुत गरे भने बुद्धिसागर पौडेलले शृंगार रसयुक्त मिठो गजल पस्किएका थिए । चुडा चौलागाईंले ‘मन तँ बदमास छस्’ शीर्षकमा कविता र एमपी पाण्डेले ‘खै कसले चलाउँछ यो देश पर्दा पछाडिबाट’ भन्ने भावको सुन्दर गजल प्रस्तुत गरे । हेमन्त निरौलाले ‘युगानुकूल सोच राखेको भए पो हुन्थ्यो सान्दर्भिकता’ भन्ने भावभूमिको गजल प्रस्तुत गरे । रोमा लम्सालले मुक्तक अंशबाट प्रवेश गरेर प्रेमभावयुक्त मीठो गजल प्रस्तुत गरिन् भने कृष्णप्रसाद पौडेल जस्ताघरेले ‘नेपाल मेरो घर’ शीर्षकमा राष्ट्रप्रेमको भावनायुक्त कविता वाचन गरे ।
यस्तै, चेवन बस्नेत ठूलाघरेले ‘जति जिस्क्याउँछौ जिस्क्याउ’ शीर्षकमा व्यङ्ग्य चेतनायुक्त र पदम दाहालले ‘अनुष्टुपमा सिकसिको छ जता पनि’ शीर्षकमा व्यङ्ग्यभावयुक्त कविता वाचन गरे । शोभा जोशीले ‘छोरीको वेदना’ शीर्षकको गीत प्रस्तुत गर्दा वसुन्धरा चौहानले ‘धरतीको प्रश्न’ शीर्षकमा समसामयिक कविता वाचन गरिन् । उत्तम भट्टराईले गजल प्रस्तुत गरे भने निशा न्यौपानेले ‘कहाँ होला बैकुण्ठ ठाउँ’ शीर्षकमा भक्तिभावयुक्त भजन गरिन् । कविराज घिमिरेले आफ्नो महाकाव्यंशका केही श्लोक वाचन गर्दा विजयराज पौडेलले समय शीर्षकमा समसामयिक संक्षिप्त रचना प्रस्तुत गरे ।
यस्तै, स्रष्टा पदयात्राका संयोजक तथा मनोहरा साहित्य समाजका परिकल्पनाकार शीतल गिरीले काव्यचेतनासँग सम्बन्धित संक्षिप्त मन्तव्य प्रस्तुत गरे भने प्रमुख अतिथि प्राडा ध्रुवकुमार घिमिरेले वाचन गरिएका सिर्जनामाथि संक्षिप्त र सारगर्भित टिप्पणीसहित आफ्नो मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष जसध्वज गुरुङले दुई मुक्तकका फाँकीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेपश्चात सभापतिको अनुमतिले सञ्चालक भावकेशर बरालले कार्यक्रम समापन भएको जानकारी दिए ।
मनोहरा साहित्य समाजले सुरुवात देखिनै निरन्तर शृङ्खलाबद्द प्रत्येक महिनाको दोश्रो शनिवार सृजना वाचन गर्दै आईरहेको छ । यहाँको विशेषता अधिकांश कविहरु जेष्ठ नागरिक थिए ।