April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बराहक्षेत्रमा भानुभक्तको शालिक अनावरण गर्दै मनाइयो भानुजयन्ती

1.1K

बराहक्षेत्र नगरपालिका वार्ड नम्बर -३ स्थित भानुचौकमा आदिकवि भानुभक्त आचार्यको शालिक अनावरण गर्दै २११ औं भानुजयन्ती मनाइएको छ ।

बराहक्षेत्र – ३ ले निर्माण गरेको सो शालिकलाई कार्यक्रममा प्रमुख अतिथि बराहक्षेत्र – ४ का वडाअध्यक्ष राजदिप लामाले अनावरण गरेका हुन् ।

सोही अवसरमा विद्यार्थीहरुबिच खुला कविताको आयोजना समेत गरिएको थियो । सो प्रतियोगितामा ११ प्रतिष्पर्धीलाई पछि पार्दै ज.डे.ज. मा.वि. बराहक्षेत्र-५ कि कक्षा -९ मा अध्ययनरत सबिना बानियाँप्र थम बनिन् । यस्तै सिद्धार्थ मे.इ. स्कुल बराहक्षेत्र -५ की अनुमा बस्नेत कक्षा-८ द्वितीय, कोशी मा.वि. बराहक्षेत्र -८ का कक्षा-१० का अनुप राउत तृतीय र महेन्द्र मा.वि. बराहक्षेत्र-६ कि कक्षा-१० मा अध्ययनरत युजिना श्रेष्ठ सान्त्वना बन्न सफल भइन् ।

Advertisement

विजेता कविहरुलाई कार्यक्रमका विशिष्ट अतिथि, प्रमुख अतिथि लगायतले नगद पुरस्कार, प्रमाणपत्र र अन्य पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमका निर्णायकमा कविहरु बुद्धि कटुवाल, राजन इशारा र सबिता फागो रहेका थिए । सिर्जना गोष्ठीमा हेम कार्की, ममता घिमिरे, आर्यन निरौला र लक्ष्मण कटुवालले कविता, मुक्तक र गजलहरु सुनाएका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै स्वर्णिम साहित्य समाजका अध्यक्ष प्रकाश दिप्साली राईले बराहक्षेत्रमा भानुभक्त आचार्यको शालिक निर्माणसङ्गै कवि लेखकहरुको निम्ति अरु सम्पत्ति थपिएको बताए ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका वार्ड नम्बर-३ का वडाअध्यक्ष राजदिप लामाले आफ्नो वडा यस्ता सिर्जनशील कामहरु गर्न मन पराउने बताए । मन्तव्यको क्रममा उनले भने, “यो ठाउँ आजबाट कवि लेखकहरुको साझा थलो बन्यो । आउने सालबाट प्रत्येक भानु जयन्तीको अवसरमा अथवा असार २९ गते साहित्यिक कार्यक्रम गरिनेछ । यसको सङ्रक्षण र सम्बर्धनमा सबै जुट्न कवि, साहित्यकार एवम आम स्थानीय बासिन्दामा अनुरोध गर्दछु ।”

बराहक्षेत्र-३ का कर्मचारी मातृका दाहालले सन्चालन गरेको सो कार्यक्रममा सभाध्यक्ष भानुभक्त शालिक निर्माण समितिका अध्यक्ष नमस धामी रहेका थिए भने स्वागत मन्तव्य पनुलाल धामीले राखेका थिए । कविता प्रतियोगिताको सेसनको सहजीकरण भने गजलकार भरौलको मनोज विष्टले गरेका थिए ।