March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

द्धन्द्धले खोसेको बाल्यकाल र खुशीहरू

ओसिन श्रेष्ठ
२०८१ असार २९

2.2K

बुबाको औँला समातेर हिँड्ने उमेरमा अजा (हुजरबुबा) को काँध चढेर गाँउ डुलेको याद अझै यादको सन्दुकमा साँचेर राखेको छु । आफ्नै बा चिन्न पनि हम्मेहम्मे परेको थियो । किनभने माओवादी द्धन्दले मेरो बासँगको बाल्यकाल नै खोसिदिएको थियो । पेसाले नेपाल प्रहरी रहेका बा देशमा संकटकाल भित्रिएपछि गाँउ आउने बाटो नै टुट्यो ।

गाउँ, त्यसमा पनि मेरो घर द्धन्द्धले नमज्जासँग गाँजेको थियो । मेरो परिविारले पाक्न लागेको भात राम्रोसँग खान पाएनन् । दशैँमा खान साँचेर राखेको अन्न आफ्नो भनेर राख्न पाइएन । बाको बर्दीवाला ज्याकेट लुकाउदै गर्दा अजि ( हजुरआमा ) र मेरो आमाको आँखाबाट छल्किएका आँशु अझैँ ओभाएको छ जस्तो लाग्दैन । किनकी मैले मेरो बाल्यकाल सुखद जिउन पाइनँ ।

निम्न वर्गीय परिवार, त्यसमा पनि द्धन्द्धले खोसेको खुशी, मेरो बाल्यकाल पक्कै सहज थिएन ।

Advertisement

सँगै सुतेका बुबा झिसमिसेमा ओछ्यान छोडेर हिँडेदेखि मैले मेरो बुबाको अनुहार देख्न पाइनँ । मेरो अजाअजीले कथन गर्नुहुन्छ । सायद आमाको त्याग र बुबाको दर्बिलो साथ पाउने तड्पाइले पनि मलाई बलियो बनाएको हो जस्तो अनुभूति हुन्छ ।

बाल्यकालमा बेहोरेका दुःखले पनि उमेरको खुड्किला बढ्दै गर्दा एउटा सुखद र सफल गन्तव्यको खोजी गर्न पछि हटेनन् मेरा पाइतलाहरू । बाको अनुहार हेर्न आतुर मेरो मन र प्रतिक्षा १० वर्षको उमेर हुँदा पुरा भएको थियो ।

मेरी आमाले बुबा भेट्न धनकुटा पुर्‍याउनु हुँदा ‘ममी उहाँको हो ?’ भन्ने मेरो प्रश्नको वाणले मेरा बाआमा दुबैको मुटूमा नमिठो गरी छेडेको थियो होला ! तर, परिस्थितिलाई समान्य बनाउदै आमाले मन्ध मुस्कानसहित ‘तिम्रो बुबा’ भनेर परिचित गराउनुभएको त्यो क्षण अझैपनि झलझली स्मरणमा छ ।

बालाई भेटेर गाँउ फर्किएपछि झनै त्यहाँ बस्ने वातावरण सकसपूर्ण भयो । डर र त्रासबीच बाँचिरहेको बाल्यकाल साथीभाईसँग हलो जोतेर त कहिले भारी बाकेर बित्यो ।

दुखःसुख विद्यालय धाँउदै गर्दा गाँउमा प्रहरी र सेनाको परिवारलाई अपहरण गर्ने हल्ला चलेपछि घरमा पीडाको कालो बादल मडारिन थाल्यो । किनकी म पनि एक सिपाहीको सन्तान थिएँ । मेरी आमा दमको रोगी, पाको हजुरबाआमा, हुर्किदै गरेको दुई दिदीहरू, रुवाई घरको चारकुनामा घन्किन थाल्यो । आमा गुमाउने त्रासले हामीले बुबा भएको ठाँउमा रातारात पठाएका थियौं ।
बालाई ‘बा’ महसुस नै नहुने उमेरमा भौतिक र भौगालिक रुपमा टाढा बनाएको पीडा थियो । त्यसमा आमालाई हेर्दाहेर्दै डाँडा कटाएको यादले अझै पनि आँखाका डिल आँशुले भरिएर आउँछ । घरको दलिनमा आँशुको दाग बोकेर बसेका ती दिनहरू फेरि सम्झन मन त लाग्दैन । तर कहिलेकँँही मानसपटलमा छरपस्ट भएर आउँदो रहेछ ।

आमाबुबाको काखबाट टाढिएका अवोध सन्तानहरूलाई विस्तारै अजाअजीको अगाँलो न्यानो लाग्न थाल्यो । बाको तृष्णा मेट्न अजा पछ्याउने म आमाको माया महसुस गर्न अजीको काखमा लुटुपुटु गरेको ति दिन आज जस्तै लाग्छ ।

दु:खसुख जीवनको यात्रा चलिरहेकै थियो । त्यही क्रममा २०६० सालमा नमिठो खबर सुन्न पर्‍यो । रेडियोको खबरसँगै घरमा रुवाबासी चल्न थाल्यो । बुबालाई माओवादीको गोली लागेको खबर समाचारमा अजाले सुन्नु भएछ । बुबालाई गोली लागेको खबरले आँखामा आँशु, मनमा भय, भोको पेट लिएर धरानको घोपा आइपुग्दा सबै शिथिल भइसकेका थियौ । छोरालाई गोली लागेको खबरले विक्षिप्त अजाअजी अनि कलिलो नातानातिनी सम्हाल्न चानचुने कुरा थिएन । तर, पनि सन्तानको अगाडी बाआमा साक्षत भगवानको रुप हो भन्दा फरक नपर्दो हो । किनकि सम्हालिनु पर्ने बाध्यता थियो ।

मृत्युको मुखमा पुगेर बाँच्न सफल भएको मेरो बुबासँग सहयात्रा गर्ने अवसर त्यही घटनापछि मात्रै मिल्यो । बुबाले जागिरे जीवनबाट अवकास पाएपछि हामी मधेसमै बसाइँ आयौं । गाँउ फर्किने परिस्थिति बनिसकेको थिएन ।
ठाँउ परिवर्तन गरेपनि बाध्यता र दु:खले नछोड्ने रहेछ । परिस्थिति बदलिए पनि भोगाइ उही हुने रहेछ । परिवार पाल्न आमाको लेभरको काम र बुबाको सेक्युरिटी गार्डको कामले मलाई पढ्न पर्छ भन्ने खुब इख जागेर आयो । आमा र बुबाको दुःखलाई महसुस गर्दै म पनि देशको सुरक्षा गर्ने कुनै निकायमा नै काम गर्छु भन्ने अठोट बोकेको थिए । समयसँग उमेरका खुड्किला थपिदै गयो । त्यो सँगै जिम्मेवारीले काँध पनि उत्तिकै गहकिलो हुँदै गयो । पैसा नभएर पढ्न नपाएका दुःख उत्तिकै छन् । रहरहरू मारेर शहरमा भौतारिएका कथाहरू थेगिनसक्नु छन् । अभावले भोक हराएका थुप्रै कथाहरू विराटनगरको कुनाकन्दरामा अझै पनि जीवितै नै छ जस्तो लाग्छ ।

सरकारी जागिरे हुने एउटा मेरो सपना पुरा गर्न सफल भएपनि अब छोरा अधिकृत बनोस् भन्ने अर्को सपना पुरा गर्नु बाँकी छ । सायद, दुःखले हुर्किएको बाल्यकाल भएर पनि होला, सपनाका चाङहरू धेरै थुप्रिएका छन् । उमेरै नपुगि परिपक्व बनायो । दुःखले परिवारको लागि इमानदारी हुनुपर्छ भन्ने अर्को पाठ पनि सिकायो । हुन त त्यो दिन नहुँदो हो त यो दिनको कल्पना समेत गर्न सकिन्न थियो होला । विगतका तिता क्षणहरू प्रति पनि आभारी छु । किनकी पुनः नयाँ तरिकाले म र मेरो परिवारलाई जीउन सिकायो ।