भोजपुरको अरुण गा.पा. ६ माङ्दिङमा गत असार १५ गते कवि तथा साहित्यिक अभियानता प्रकाश दिप्साली राईलाई सम्मान गर्दै ’रैथाने कवि र कविता ’ कार्यक्रम सम्पन्न भएको छ ।
परिचय साहित्य÷कला प्रतिष्ठान अरुण गा.पा. ६ ले नेपाली सहित्यमा पुराएको योगदानको कदर गर्दै अनि राष्ट्रिय कविता महोत्सव २०८० मा विजेता भएको भन्दै दिप्सालीलाई सम्मान गरेको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि अरुण गाउँपालिका वडा नम्बर–६ का वडाअध्यक्ष गणेशलाल टक्का राई, परिचय साहित्य कला प्रतिष्ठानका अध्यक्ष ओम डिसिआर, समाजका प्रभुत्व व्यक्तित्वहरुले दोसल्ला सम्मानपत्र नगद र रैथाने विधिले उनलाई सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा सर्जक र सिर्जना अन्तरगत प्रतिमा पोखरेल, अच्युत भट्टराई , निरन राई, दिक्पाल राई, दिपा मग्राती, लोकेन्द्र सिलोङ्टारे, सुजन विम्वित कटुवाल, सुजन सोल्टी राई, सङ्ग्राम राई, गुणराज पराजुली लगायत स्थानीयहरुले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा गायक तथा प्रख्यात सारङ्गीवादक तेजेन्द्र गन्दर्भले विशेष साङ्गीतिक प्रस्तुती दिएका थिए । सोही कार्यक्रममा नयाँ प्रतिभा खोज्ने उदेश्य सहित कार्यक्रममा कविता प्रतियोगिता समेत राखिएको थियो ।
सो प्रतियोगितामा मन्दिरा राई, सर्गम पराजुली, तेस्रो डिपलब बराइली र मिलन बराइली क्रमशः प्रथम, द्वितीय, तृतिय र सान्त्वना बन्न सफल भएका थिए । उनीहरुले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गर्न सफल भए । कार्यक्रममा सम्मानित स्रष्टाको विचार राख्दै परिचय हवाई पत्रिकाको इतिहास लामो र दर्विलो रहेको बताए । आज सोही पत्रिकाको नामले प्रतिष्ठान निर्माण हुनु थप सबल पक्ष रहेको बताए । साथै उनले पछिल्ला पुस्ताहरु लोभमा फस्न खोजेको बताए । उनले भने “हामी सर्जकलाई समाजले अगुवा र बौद्धिक ठान्छन् । त्यसैले सर्जकले सस्तो प्रचार र सिर्जनाको ज्यादा लोभ गर्नु हुन्न । यस्ता कार्यले सर्जकको गरिमा घटाउँछ । अर्को कुरो हामी कवि लेखक हौँ भन्नेहरु समयानुकूल अघि बढ्नुपर्छ। पुरातन ढङ्गले अघि बढियो भने त्यो समय सापेक्ष हुनै सक्दैन । रैथाने विधिले सम्मान गर्नु भो ममा अरु जिम्मेवारी थपिदिनु भएको छ , सके र जानेसम्म सो जिम्मेवारी निर्वाह गर्नेछु । आयोजकप्रति धन्यवाद ज्ञापन गर्दछु ।”
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अरुण गा.पा.– ६ का वडाअध्यक्ष गणेश टक्का राईले परिचय साहित्य कला प्रतिष्ठानले यति भव्य र सानदार कार्यक्रमको आयोजना गरेर अरुण गा.पा.को चिनारीलाई थप सुवासिलो बनाएको बताए । साथै आगामी दिनमा पनि परिचय साहित्य कला प्रतिष्ठानसङ्ग सहकार्य गर्ने प्रतिबद्धता दिए ।
कवि इन्द्रसुर बेल्टारेले सन्चालन गरेको उक्त कार्यक्रममा सभाध्यक्ष प्रतिष्ठानका अध्यक्ष ओम डिसोआर रहेका थिए भने स्वागत मन्तव्य अनिता थापाले राखेकी थिइन् ।