इलाम । लेखक वीर बहादुर लिङ्देन(विरुपाक्ष)कृत बालकथासंग्रह ‘फेम्बा पु’ लोकार्पण हुने भएको छ । संग्रह जेठ १० गते विर्तामोडको सिलाम साक्मा होटलमा हुने जनाइएको छ।
साठीको दशकदेखि लेखनको विविध विधामा कलम चलाउँदै आएका लिङ्देनको यस संग्रह पहिलो कृति हो। यसअघि ‘पर्खि बसेको छु नि’ लगायत विभिन्न गीति एल्बममा गीतकारको परिचय बनाइसकेका लिङ्देनको घुम्टोभित्रको आँसु (नाटक), आमाको माया (नाटक), जयमाया (उपन्यास), विरुपाक्षका कथा, गीत र कविताहरु अप्रकाशित कृतिहरु रहेका छन्। माइ नगरपालिका डडुईं इलाममा स्थायी बसोबास गर्दै आएका लिङ्देन लामो समययता शिक्षण पेसामा आवद्ध छन्।
विमोचन हुन लागेको उक्त बालकथा संग्रहमा विभिन्न ६ ओटा बालकथाहरु संग्रहित छन्। लोकमानस, लोक वाङमय, लोककथा र बाल मनोविज्ञानमा आधारित रहेर लेखिएको संग्रहमा स्थानयीता भेटिन्छ।
लेखक भन्छन्,”कथामा स्थानीय बालबालिका र तिनको मनोविज्ञानलाई चरित्रको रुपमा उतार्ने प्रयास गरेको छु। कथाको कालखण्ड ६०/७० दशकको हो। अहिलेको बालक र उ बेलाको बालकको मनोविज्ञानमा धेरै फरक पाउँछु। त्यो बेला कम्तिमा प्रकृति र वातावरणबाट बच्चाले सिक्थे। अहिले प्रविधिको गलत प्रयोगले ग्रस्त छन्। यसमा बढि हात त हामी अबिभावककै छ। प्रविधिको अधिक र गलत प्रयोगले बालबालिकाको मनोविज्ञानमा असर गर्छ नै साथै उनीहरू प्रकृति र मौलिकताबाट टाढा पनि हुन्छन्। बालबालिकाहरुको मनोविज्ञानलाई प्रकृति र मौलिकता संग जोड्ने सानो प्रयास हो यो बालकथा संग्रह”।
बालकथा संग्रहको शीर्षकबारे लेखक भन्छन्, “फेम्बा पुको नेपाली उल्था हुन्छ ‘कामी चरा’। यो चराले प्राय हिउँदमा निस्कन्छ। यसले निकाल्ने आवाज आरनको जस्तै सुरिलो हुन्छ। दिउँसो अँध्यारोमा लुक्ने उक्त चरा प्राय: साँझ र रातमा निस्कन्छ। कथाभित्रको एउटा कथाको शीर्षक पनि हो ‘फेम्बा पु’। दक्षिण एसियामा फैलिएको जातप्रथा जस्तो अमानवीय रोग र त्यसबाट ग्रस्त मनोविज्ञानलाई हटाउनु कथाको सानो प्रयास रहेको छ। बालबालिकाहरुलाई सानैदेखि जातप्रथाको रोगमा पारिन्छ, जानअन्जान। कम्तिमा उनिहरुले त्यो अमानवीयता विरुद्दमा प्रश्न त गर्न सकुन्।”
बालकथासंग्रह कमै प्रकाशन गरिन्छन्। यसमा स्वेरकल्पना भन्दा पनि बालबालिकाहरुको मनोविज्ञानलाई उतार्ने प्रयास गरेका छन् लेखकले। प्रकाशोन्मुख उक्त बालकथा संग्रहलाई ‘लिङ्देन समाज’ ले प्रकाशन गर्न लागेको हो। बालबालिकामा सानैदेखि पठन संस्कृति बिकासका लागि पुस्तकबाट आउने सम्पूर्ण रोयल्टी आफू संलग्न विद्यालयमा ‘बाल पुस्तकालय’ को लागि सौजन्य गरिने लेखकले बताए।