ललितपुर । कवि तथा गीतकार डम्बर याक्सोको कवितासंग्रह ‘मेरा मनका अव्यक्त भावहरू’ लोकार्पण भएको छ । ललितपुरको युङ्चा हिम रेस्टुरेन्टमा एक विशेष समारोहबीच प्रमुख अतिथि कवि तथा प्राज्ञ श्रवण मुकारुङद्वारा पानसमा बत्ती बालेर उक्त कृति लोकार्पण गरिएको हो ।
प्रमुख अतिथि श्रवण मुकारुङले उक्त कृतिमाथि बोल्दै यक्सोको ‘मेरा मनका अव्यक्त भावहरू’ कृतिभित्रका रचना दुरुह वा जटिल नभएको बताए । मुकारुङले भने, “यी सरल, सुन्दर, सटिक र बोधगम्य छन् । जसले स्वयं पाठकसित सिधै संवाद गर्ने क्षमता राख्दछन् । यस कृतिले मानिसको जीवन, दुःख र संघर्षको बहुआयामलाई चित्रण गरेको छ ।”
उनले थपे, ” बुध्दले भने झैं ‘मानिसको जीवनमा दुःख छ । दुःखको कारण छ । त्यसको निवारण पनि छ र निवारणमा पुग्ने बाटो छ । तर बाटो अलग बताए । कवि याक्सोले चाहिँ अथक संघर्षले नै दुःखलाई पराजित गर्न सकिने कुरा कवितामा सङ्केत गरिएको छ ।”
कार्यक्रममा वरिष्ठ संगीतकार प्राज्ञ शान्तिराम राई, वरिष्ठ संगीतकार दिनेश काजी बान्तवा, साहित्यकार प्राज्ञ लक्ष्मी उप्रेति, गोपिकृष्ण प्रसाई र याक्थुङ चुम्लुङका प्रतिनिधि क्याप्टेन टंकबहादुर चोबेगुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको संयोजन जीवन मुकारुङले गरेका थिए भने सुस्मिता याक्सो कन्दङ्वाले कार्यक्रम संचालन गरेकी थिइन् ।