April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहद्वारा धरानमा सृजना वाचन र पुरस्कार तथा सम्मान कार्यक्रम

890

धरान । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहले पुस्तक लोकार्पण, परिचर्चा, सृजना बाचन तथा पुरस्कार सम्मान अर्पण कार्यक्रम गरेको छ । वैशाख ५ गते होटल रत्न इन धरानको सभाहलमा सम्पन्न कार्यक्रम अन्तर्राष्ट्रिय परदेशी साहित्य समूहका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्व र प्रा.डा. टङ्कप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा भिम खतिवडा, साहित्यकार देवेन्द्र सुर्केली र धरान उपमहानगरपालिका वडा न. १३ का अध्यक्ष नेत्र काफ्लेको विशिष्ट अतिथि रहेका थिए ।

समूहका उपाध्यक्ष भीम राई परदेशीले संस्थाको बारेमा बोल्दै लडाइँको मार्चमा जे पनि हुनसक्ने यथार्थतालाई मनन् गरेर सृजनाहरुलाई एकाकार गरिराख्न संस्थाको जन्म भएको बताएका थिए । जुन संस्थाको स्थापना भएको १५ वर्ष भएको छ । संस्थाले परदेशी विम्बहरू… साहित्यिक संगालोको प्रकाशन गरिरहेको । लोकार्पण भएको संगालो १५औं पूर्णाङ्क हो ।

Advertisement

दीपक सुवेदीलाई भीमबहादुर स्मृति साहित्य पुरस्कार
नेपाली साहित्यको समीक्षा र समालोचनाको क्षेत्रमा सक्रिय रहेका दीपक सुवेदीलाई भीमबहादुर स्मृति साहित्य पुरस्कार– २०८० प्रदान गरिएको छ ।

भीमबहादुर स्मृति प्रतिष्ठानद्वारा हरेक वर्ष नेपाली भाषा साहित्यको उन्नयनका निम्ति अमूल्य योगदान दिने व्यक्तिलाई प्रदान गरिँदैआएको उक्त पुरस्कार यस पटक झापाको गौरादहमा रहेर समीक्षा र समालोचनाको क्षेत्रमा कलम चलाइरहेका दीपक सुवेदीलाई पन्ध्र हजार, पाँच सय, पचपन्न नगद रुपैयाँ र सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।

समालोचक सुवेदीको उडिरहेका परेवाहरू (कविता, २०६१), दीपक बलेपछि (गजल, २०६१), मञ्जरी निबन्धमाला (माध्यमिक तह, २०७५), मञ्जरी बाल निबन्धमाला (आधारभूत तह, २०७५), नेपाली डायस्पोरा र अन्य सिर्जना (२०७६), सजिलो नेपाली वर्णविन्यास (२०७६), अनलाइन साहित्य र भारतेली स्रष्टावार्ता (२०७९) र हङ्कङको नेपाली साहित्य र समालोचना (२०८०) कृति प्रकाशित छन् ।

त्यसैगरी कार्यक्रममा अमेरिकामा रहेर नेपाली साहित्यमा कलम चलाइरहेका डा. मधु माधुर्यलाई ताम्रपत्रबाट भीमबहादुर लिम्बू सम्मान– २०८० अर्पण गरिएको थियो ।

अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीद्वारा बुबाको नाममा २०७९ सालमा यो पुरस्कार स्थापना गरिएको थियो । यो पुरस्कार गत वर्ष बेलायतमा रहेर नेपाली साहित्यमा योगदान गर्दै आएकी जानु काम्बाङ्गलाई नगद पुरस्कार र ताम्रपत्रसहित पुरस्कृत गरिएको थियो भने असमका स्रष्टा पद्मश्री लीलबहादुर छेत्रीलाई ताम्रपत्रबाट सम्मान गरिएको थियो ।

विमोचित परदेशी विम्बलगायत तीन पुस्तकमाथि चर्चा
कार्यक्रममा अन्तर्राष्ट्रिय परदेशी साहित्य समूहको प्रकाशन रहेको ‘परदेशी बिम्ब’ माथि दीपक सुवेदीले, सुनिता राई कन्दङ्वाको कथासङ्ग्रह ‘तिउरी’ माथि जनक ऋषि राईले, कृष्णप्रसाद गौतमको ‘लेकबेसीको स्पन्दन’ कवितासङ्ग्रह टिका आत्रेयले र सुरेन्द्र लिम्बूको ‘हामी आयामका भूइँमान्छेहरू’ माथि प्रा.डा.भीमप्रसाद खतिवडाले चर्चा गरेका थिए ।

आठ कवि र गजलकारले सिर्जना वाचन
कार्यक्रममा कवि गगन योक्पाङ्देन, विशाल नाल्बो, कृष्णप्रसाद गौतम, स्वतीकला राईले कविता वाचन गरेका थिए । त्यसैगरी परिक्रमा श्रेष्ठ, लक्ष्मण कटुवाल, रोमु अधिकारी, तारा दिप्सालीले गजल वाचन गरेका थिए ।

कार्यक्रम सञ्चालन समूहका सचिव बुद्धितेम्बे माइलाले गरेका थिए ।